शिशिर वैद्य, काठमाडौँ, साउन २०- काठमाडौं सहर, हेर्दा लाग्छ रहर, साला गिद्धै गिद्धको सहर, दिमाग चला पैसा खस्छ भरर चलचित्र 'लुट'मा हाकु कालेले बोलेका यो संवादले काठमाडौं सहरको वास्तविकतालाई निकै सरल र स्पष्ट ढंगले प्रस्तुत गरेको छ। ठेट नेवारी जिब्रोको स्वाद आउने संवाद सुन्न र बोल्न निकै मजा आउँछ। युवायुवतीको जिब्रोमा यी वाक्य झुन्डिएका छन्। सहरिया युवाहरूको मुखमा नेपाली चलचित्रका संवाद झुन्डिनसक्नु पटकथाकारको ठूलो सफलता हो। यसले काठमाडौं सहरका थुप्रै दृश्य-अदृश्य तथ्य उजागर गरेको छ। सपनै सपनाले जेलिएको यो सहर चुनौती, अवसर र रहरले भरिएको छ।
करिब दुई शताब्दीअघि काठमाडौं सहर अहिलेजस्तो थिएन। तैपनि, त्यतिबेला यसको आकर्षण कम थिएन। पहिलोपटक यो खाल्डो देख्दा पृथ्वीनारायण शाह मोहित भएका थिए। जेसुकै रणनीतिक कारण भनिए पनि काठमाडौंको आकर्षणमा अल्भि्कएकै हुनाले उनले आफ्नो मूलथलो गोरखालाई राजधानी बनाएनन्। उनको मन पनि यतै भुल्यो। त्यसयता काठमाडौं सहरमा भुलिने र हराउनेहरूको संख्या बढ्दो छ। कचौरा आकारको यो खाल्डोको चुम्बकीय शक्तिले अझै नेपाललाई तानिरहेको छ। मकवानपुरको डाँडाबाट होस् वा नुवाकोटको भञ्ज्याङबाट, जताबाट हेरे पनि यो सहर वास्तवमै रहरलाग्दो छ।
भारतीय सहर बम्बई (हाल मुम्बई) लाई चिनाउने एउटा प्रसिद्ध संवाद छ 'ये बम्बई हे बाबु, यहाँ पैसा बोलता हे।' भौगोलिक र आर्थिक उन्नतिको कसीमा काठमाडौं र मुम्बईबीच तुलना हुन सक्दैन। तर सहरको चरित्र हेर्दा भने काठमाडौं मुम्बई भइसकेको छ। मुम्बईमा जस्तै यहाँ पनि पैसा र जीवन पर्याय बनिसकेको छ। यहाँ पैसाबिना बाँच्ने कल्पना गर्नु बेकार छ। पानी किन्न, मन बहलाउन, शौच गर्न, फोहर फाल्न, पार्किङ गर्न र सडक-पेटीमा पसल थाप्न पनि पैसा नभई हु"दैन।
देशको राजधानी र शक्ति केन्द्र दुवै हो काठमाडौं। विकेन्द्रीकरण र संघीयताको जतिसुकै कुरा गरे पनि काठमाडौंप्रति कुनै पनि नेपालीको मोह घट्न सकेको छैन। सबैलाई चाहिएको छ काठमाडौं। यहाँ पैसा कमाउन जति गाह्रो छ, त्यति नै सजिला पैसा उडाउने माध्यम पनि छन्। यहाँ रातारात करोडपति बन्दै, टाट पल्टिँदै र फेरि करोडपति बनेकाहरू धेरै छन्। दशकौं दशक रगडिँदासमेत खान-लाउन धौधौ परिरहेकाहरू पनि यहीँ छन्। सडकबाट सुरू गरेर महल ठड्याउनेको संख्याभन्दा सडकमै रिंगिएर सडकमै मर्नेहरूको संख्या धेरै छ यो सहरमा। दिमाग वा भाग्य केले बढी खेल खेल्छ, यो रहस्यमय छ। सबै आ-आफ्नै दौडमा दौडिरहेको भेटिने यो सहर परिचितहरूका लागिसमेत अञ्जान हुन थालिसकेको छ। पुराना र प्रयोग भइसकेका लुगा, जुत्तादेखि सेकन्डह्यान्ड पुस्तक पसलसम्म, नाङ्लो पसलदेखि ठुल्ठूला कम्पनीका संचालकसम्म सबै समेटिएका छन् यसभित्र। यहाँ देह बेच्ने पनि छन्, भगवान बेच्ने पनि छन्। खरिददारको माग पूरा गर्न थरिथरिका मान्छेहरू गिद्धेदृष्टि लगाएर घुमिरहेका भेटिन्छन्। कसले कहाँ कसलाई कसरी झम्टिने हो? अनुमान लगाउनै सकिँदैन। सुविधा, अवसर र सम्भावना अदृश्य रूपमा रहेका छन् यहाँ। अवसर र सम्भावनालाई च्याप्प समात्ने दाउमा दैनिक सहर भित्रिने हजारौं मानिस यही भीडमा कसैले समात्न नसक्ने गरी हराउने गरेका छन्।
यसरी मानिसहरू किन यो भीडमा हराउन ओइरो लागिरहेका छन्? काठमाडौंमा त्यस्तो के आकर्षण छ? क्षेत्रफल हेर्ने हो भने यो देशकै सानो जिल्लाहरूमध्येमा पर्छ। सुविधा छ भनौं भने यहाँ मानिस मध्यरातिसमेत पानी खोज्न भौतारिरहेका भेटिन्छन्। डेरा पाउन सजिलो भए पनि भाडा तिर्नै धौधौ हुनेगरी महँगा छन्। कोठामा ओछ्याइएका डसनाले घामको झुल्को कहिल्यै देख्न पाउँदैनन्। सहरको हावामा शरीरलाई चाहिनेभन्दा खराब गर्ने तत्व बढी छन्। सडकमा पिच कम खाल्डा ज्यादा छन्। बटुवा हिँड्ने पेटी छन्। तर, ती सबै हकरहरूले कब्जा जमाएका हुन्छन्। खाद्यान्न र तरकारी किन्न जाँदा हेरेर चित्त बुझाउनुपर्छ।
बिरामी पर्नु अभिशाप नै हो यहाँ। किनभने अस्पताल पैसा चुस्ने मेसिनजस्ता छन्। सरकारी अस्पतालमा पालो कुर्दाकुर्दै बिरामीले कहिले अन्तिम सास फेर्ने हो ठेगानै हुँदैन। विशेषज्ञ डाक्टरलाई देखाउने हो भने बिरामी पर्नुअघि नै नाम लेखाउनुपर्छ। नत्र पालो नै पाउन सकिँदैन। तर, पनि सबैलाई काठमाडौं नै प्यारो छ। सबै आ-आफ्नो दिमाग चलाइरहेका छन्, कतै पैसा वास्तवमा नै भरर झर्ने पो हो कि!
जागिर पाउने आसमा यहाँ दैनिक हजारौं युवा बेरोजगार भौतारिरहेका भेटिन्छन्। जागिर खुवाइदिने लोभ देखाएरै दर्जनौं आफन्त बेराजगार युवाहरूलाई ठगी गर्न पल्किएका पनि यहीँ छन्।
गाउँबाट ठुल्ठूला सपना बोकेर राजधानी छिरेका युवा पाए काठमाडौंमा नपाए साउदी र कतारतिर गएर भए पनि पैसा कमाउने आसमा काठमाडौं पस्छन्। मानवश्रम व्यापारी 'म्यानपावर'हरू ती आशामा तुषारापात गर्न अजिंगरको मुख र स्यालको जस्तो धूर्त दिमाग बोकेर काठमाडौंका गल्लीगल्ली घुमिरहेका भेटिन्छन्। काम नपाएकाहरू फोहोर टिपेर पनि यो सहरमा बाँचिरहेका छन्। बालश्रमबारे ठुल्ठूला भाषण गर्नेहरूले पाँचतारे होटलमा गोष्ठी गरिरहँदा सँगैको ठेलामा चियाका गिलास माझेर, माइक्रो र टेम्पुमा खलासीको काम गरेर जीविका चलाइरहेका बालकहरू भेटिन्छन्। अवसर पढेलेखेका लागि पनि छन् र पुस्तक देख्नै नपाएकाका लागि पनि छन्। बाग्मतीको आहालमा शव पोलेका दाउरा बटुलेर र ढलमती भइसकेकी बाग्मतीको फोहर पानीमा भक्तहरूले फ्याँकेका सिक्का चुम्बकले तानेर चाउचाउ खाने पैसाको जोहो गर्ने जमातका पनि छन् यहाँ। सुकुम्बासी, द्वन्द्वपीडित, बेघर, बेसहाराका लागि काठमाडौं सजिलो सहारा हो। एक थोपा डेन्ड्राइट सुघेर होस गुमाइसकेका सडक बालबालिका सहरका मूल सडक र गल्लीमा असरल्ल भेटिन्छन्। उनीहरूका लागि सडकपेटी र भुस्याहा कुकुरको साथ स्वर्गीय हुन्छ। काठमाडौं सहरको रौनक र चमकधमक उनीहरूका सपना होइनन्। काठमाडौंसँग आफ्नो उत्पादन केही छैन तर यो 'ट्रेड प्वाइन्ट' हो। नागढुंगा र बनेपा नाकाबाट सामानले लादिएका कन्टेनरहरू भित्रिएर यो खाल्डोमा पुगेर बिलाउँछ। लाग्छ यो एउटा ठूलो डम्पिङसाइट हो, जहाँ नयाँ-नयाँ उत्पादन डम्प गरिन्छ।
काठमाडौंको तस्बिरमा यी दरिद्र चित्रहरू मात्र अटाउने होइन। यहाँ घर बसीबसी प्रविधिको प्रयोग गरेर मासिक हजारौं डलर कमाउने युवा जमात पनि छन्। झिसमिसे उज्यालो हुनुअघि नै घरघरै पत्रिका पुर्याएर कलेजमा उच्चशिक्षा आर्जन गर्न मिहिनेत गरिरहेका वर्ग पनि छन्। एकै दिनमा क्लब र डिस्को धाएर दशौं हजार खर्च गर्ने विलासी धनाढ्य युवा पनि छन्। अभावले लुगा नलगाएका वर्ग भेटिने काठमाडौंका सडकमा हजारौं खर्च गरेर डिजाइनर क्रिएटेड ओपन लुगा लगाउने जमात देख्दा काठमाडौंको जीवनस्तर वास्तवमा नै बुझिनसक्नु लाग्छ। पश्चिमा संस्कृतिलाई अनुसरण गर्नेहरूले आफ्नो धरातल बिर्सिएपछि न यताको हुन्छन् न उताको। हाम्रा गाउँघरमा वयस्क महिला मजाले धुम्रपान गर्छन। उनीहरूलाई धुम्रपान गर्न हुने नहुने ज्ञान कम छ। तर यहाँका पढेलेखेका युवतीहरूमाझ आजभोलि धुम्रपानको फेसन चलेको छ। काठमाडौंमा चल्ने फेसन र अन्य ट्रेन्डले देशभरिनै सकारात्मक र नकारात्मक दुवै प्रभाव पारिरहेको हुन्छ।
अनेक कथा र व्यथा बोकेर काठमाडौं सहर देशलाई चलाइरहेको छ। मेचीदेखि महाकालीसम्म देश फैलिएको शताब्दीयौं भइसक्दा पनि काठमाडौं एक्लैले नेपालको बिँडो थामिरहेको छ। देशलाई संघीयता चाहिएको छ। तर संघीयताका नाराहरू भने काठमाडौंमा नै घन्किरहेकाछन्। हिमाल, पहाड, तराई, मधेश सबैतिरका नेपाली यो खाल्डोमा अटाउन ओइरिइरहेका छन्। राजनीति गर्न जिल्लाका प्रतिनिधि बनेर आएकाहरूको पहिलो उद्देश्य नै काठमाडौंमा घर घडेरी जोड्ने भएपछि देशको सीमा काठमाडौंको चार भञ्ज्याङ पारि कसरी पुगोस्?
प्रकाशित: १९ श्रावण २०६९ २२:१७ शुक्रबार





