१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

नक्कली जग्गाधनी प्रहरी फन्दामा

भैरहवा, असार १३ - जिल्ला मालपोत कार्यालय भैरहवामा अर्कैको नाममा रहेको जग्गा आफ्नो हो भनी नक्कली जग्गाधनी बनेर बिक्री गर्न खोज्ने र नक्कली जग्गाधनीबाट जग्गा आफ्नो नाममा पास गर्न खोज्ने तथा कीर्ते काममा साक्षी बस्नेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ।

भैरहवा मालपोत कार्यालयमा मानपकडी-३ का राजाराम ऐरको नाममा रहेको जग्गा नक्कली राजाराम ऐर बनी जग्गा सोही ठाउँका राम सुरज तेलीले निर्मला ऐरलाई नामसारी गरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मीले बताए।

प्रहरीले किसोरी बानियाँ, राजेश बानियाँ, ओमप्रकाश बानियाँ, रामसुरज तेली, निर्मला ऐर र मोहन शाहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ।

रामसुरज र निर्मलाबाहेक अन्यलाई कीर्ते काममा साक्षी बसेका कारण पक्राउ गरिएको हो । रामसुरत तेली नक्कली जग्गा धनी बनेका थिए भने निर्मला उनीसँग जग्गा किन्ने व्यक्ति बनेकी थिइन्।

स्रोतका अनुसार भैरहवा मालपोतका केही कर्मचारीले आर्थिक प्रलोभनमा परी काम अगाडि बढाएका थिए। पछि रकममा कुरा नमिले पछि मालपोतकै कर्मचारीले कीर्ते गरी जग्गा पास गर्न लागेको भन्दै प्रहरीलाई खवर गरेको निर्मलाको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।

जग्गा धनी राजाराम ऐरको फोटो नभएको नागरिकता र मालपोत कार्यालयको पुर्जा लिएर आफू नै राजाराम ऐर भन्दै रामसुरत तेलीले जग्गा पास गर्न लागेको बेलामा शङ्का लागेर प्रहरीलाई खवर गरेको रुपन्देही मालपोत कार्यालयले जनाएको छ।

मालपोत कार्यालय भैरहवाका प्रमुख शङ्करप्रसाद सुवेदीले जग्गा पास गर्न आउने जग्गाधनी नक्कली भएको शङ्का लागेपछि प्रहरीलाई खवर गरेको बताए। यसमा मालपोत कार्यालयको कुनै संलग्नता नभएको पनि उनले दाबी गरे।- रासस

प्रकाशित: १३ असार २०६९ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App