निर्घात कुटपिटपछि काठमाडौंको ताकेश्वर नगरपालिका–५ गोल्ढुंगामा एक जनाको ज्यान गएको छ। बिहीबार राति घर फर्कने क्रममा होहल्ला गरेको भन्दै २४ वर्षीय छिरिङ तामाङलाई स्थानीयले कुटपिट गरेका थिए। कुटपिट भएको जानकारी पाएपछि राति साढे १ बजे बालाजु वृत्तको प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले तामाङलाई त्रिवि शिक्षण अस्पताल पु-याउँदै गर्दा बाटोमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
उनका अनुसार राति साढे १२ बजे तामाङ र उनका साथी दोर्जे तामाङ डेरामा फर्कंर्दै थिए। कोठामा फर्कने क्रममा स्थानीय कृष्णबहादुर श्रेष्ठको घरनजिकै पुगेपछि कुकुर भुकेको थियो। कुकुर भुकेर निद्रा खल्बलिएको र मदिरा सेवन गरेर हल्ला गर्दै हिँडेको भन्दै घरधनी कृष्णबहादुर श्रेष्ठ र उनका छिमेकीले तामाङलाई कुटेका थिए। तामाङसँगै रहेका दोर्जे तामाङ गम्भीर घाइते भएका छन्। ‘कुटपिटकै कारणले मृत्यु भएको हो, घटनामा संलग्न घरधनी र अन्य चार जनालाई हामीले नियन्त्रणमा लिएका छौं,’ डिएसपी सिंहले भने, ‘रक्सी खाएको र होहल्ला गरेको भनेर स्थानीयले कुटपिट गरेका रहेछन्।’
प्रकाशित: ३ श्रावण २०७७ ०५:०८ शनिबार