११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा र पोखरामा संक्रमितको श्रोत खुट्याउनै सकस

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भेटिएका कोरोना संक्रमितमध्ये दुईवटा ‘केस’ को श्रोत खुट्याउन स्वास्थ्यकर्मीलाई निकै नै हम्मेहम्मे परेको छ। भेटिएका संक्रमितमध्ये पोखरा महानगरपालिका– ८ का ६० वर्षिय पुरुष र गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षिय किशोरसम्म कसरी संक्रमण पुग्यो भन्ने पत्ता लगाउन सरोकारवालाले सकेका छैनन्।  

अन्यत्रतिर भारतबाट फर्केका व्यक्तिमा धमाधम कोरोना देखिएपनि पोखरा र गोरखाका यी दुईजनामा कहाँबाट संक्रमण पुग्यो भन्ने अझै खुलेको छैन। किनकी पोखराका पहिलो संक्रमित व्यक्तिसँग ट्राभल हिस्ट्रि नै छैन भने गोरखाका संक्रमित किशोर दुईसातादेखि प्रहरी हिरासतमा थिए। प्रहरी हिरासतमा पुग्नु अघि पनि उनको ट्राभल हिस्ट्रि छैन। प्रहरी नियन्त्रणमा आउनु अघि उनी घरमै थिए। प्रहरी नियन्त्रणमा रहेका व्यक्तिसम्म कसरी संक्रमण पुग्यो भन्ने अहिले सबैलाई जिज्ञासा बनेको छ।  

पोखरा महानगरपालिका–८ सिमलचौरमा बस्ने एकजना ६० वर्षिय पुरुष गत मंगलबार कोठामा बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई उपचारका लागि पोखराका विभिन्न अस्पताल हुँदै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। काठमाडौंमा परीक्षण गर्दा बल्ल उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

गोरखाका किशोरमा भने प्रहरी नियन्त्रणमै रहेका बेला कोरोना पुष्टि भएको छ। जर्बजस्ती करणीको आरोपमा जेठ ११ गते प्रहरीले ती युवालाई पक्राउ गरेर हिरासतमा राखेको थियो। पोखराको बालसुधार गृहमा ल्याउने तयारीका क्रममा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको छ। प्रहरीको नियन्त्रणमा रहेका युवामा कोरोना देखिएपछि अहिले गोरखामा त्रास छाएको छ। प्रहरीले सुरुदेखि नै ती किशोरलाई भिन्दै कोठामा राखेको थियो। भिन्दै कोठामा रहँदा पनि कोरोना देखिँदा स्वास्थ्यकर्मी झनै अचम्मित भएका छन्।  

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले संक्रमित व्यक्तिसम्म कसरी संक्रमण पुग्यो भन्ने नै अचम्मको विषय भएको बताए। ‘पोखरामा यसअघि कोरोना नभेटिएको र एकाएक स्थानीय व्यक्तिमा संक्रमण पुष्टि हुँदा अचम्म लाग्नु स्वभाविक हो,’ शर्माले भने, ‘पोखरामा भेटिएको कोरोनाको श्रोत नै फेला पार्न सकेका छैनौ। अन्यत्र धमाधम भारतबाट फर्केका व्यक्तिमा संक्रमण पुष्टि भएपनि पोखराको केसमा भने स्थानीयमै संक्रमण देखिएको छ। श्रोत पहिचानमा निकै सकस छ।’

‘कहाँ मिस्टेक हुँदा पोखरामा कोरोना भित्रियो भनेर खोजी गरिरहेका छौ। तर, ठूलो ठाउँ भएकोले श्रोत भेटाउन उत्ति सहज छैन,’ उनले भने, ‘लुकिछिपि भारतबाट आएका व्यक्तिबाटै संक्रमण भित्रिएको आशंका छ। त्यो पनि प्रमाणित आधार होईन।’ पोखराका ती बिरामी यहाँको एक कलेजमा प्राध्यापन गर्थे। त्यसबाहेक कानुनी पेशामा संलग्न भएकोले उनी बिरामी परेर अस्पताल पुगेपछि पोखराका हाई प्रोफाइल व्यक्ति उनलाई भेट्न अस्पतालसम्म पुगेका थिए। संक्रमितलाई भेट्न अस्पताल पुगेका ३८ जना व्यक्ति पहिचान गरेर उनीहरुको नमूना संकलन गरेर परीक्षणका लागि स्वाव लिइएको उनले बताए।

‘भित्रभित्र कोरोना फैलिएको आशंका गर्ने ठाउँ प्रयाप्त रहे। किनभने पोखरा नछाडेका मान्छेमा पनि कोरोना देखिएको छ,’ उनले भने। संक्रमित व्यक्ति पोखरामा अचेत अवस्थामा भेटिएको र उनलाई हेलिकप्टरबाट काठमाडौं लगेर उपचार भईरहेकोले सबै विवरण बताउन ती बिरामी अझै सक्षम भईसकेका छैनन्। ‘संक्रमित व्यक्तिले सबै विवरण दिन सकेका छैनन। हामीले अनुमानको भरमा उनको सम्पर्कका व्यक्ति पहिचान र खोजी गर्ने हो,’ शर्माले भने, ‘बिरामी हुँदाको अवस्थामा अस्पतालमा भेट्न जाने व्यक्ति त फेला परे। तर, कोरोना सार्ने व्यक्ति पहिचान सहज छैन।’  

पहिलोपटक एकैचोटि १० जनामा संक्रमण देखिएको गोरखाका संक्रमितमध्ये आठजना भारतबाट र एकजना काभ्रेबाट आएर क्वारेन्टिनमा बसेका थिए। काभ्रेबाट आएका युवक भने मोटरसाईकल मर्मतको काम गर्ने व्यक्ति रहेको गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए।  

भारतबाट आएका धेरैतिरका व्यक्तिमा कोरोना देखिएपनि जिल्ला नछाडेका व्यक्तिमा संक्रमण देखिँदा त्रास छाएका प्रहरीले बताएको छ। गोरखाका डिएसपी बासुदेव खतिवडाले पनि प्रहरी नियन्त्रणमा रहेको बेला संक्रमण हुँदा सर्बत्र त्रास छाएको बताए। प्रहरीको नियन्त्रणमा रहेका ती किशोरलाई जिल्ला प्रहरी कार्यालयको छुट्टै कोठामा राखिएको डिएसपी खतिवडाले बताए। ‘स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पताल लैजाँदा, पक्राउ गर्दा, कार्यालयमा सोधपुछ र अनुसन्धानको  क्रममा भने उनी हिरासतमा रहेका अन्य ब्यक्ति र प्रहरीसँग बारम्बार सम्पर्कमा आएका छन,’ खतिवडाले भने, ‘हिरासत कक्षको सुरक्षामा खटिएका प्रहरी, थुनुवा भेट्न आउजाउ गर्नेहरु त्रासमा छन्।’  

प्रहरी हिरासतमा रहेका युवकलाई कोरोना पोजेटिभ देखिएपछि उनीसँगको सम्पर्कमा रहेका २० जनाको पिसिआर परीक्षणका लागि पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले बताईन। ‘स्थानीय केस भएकोले पनि सबैतिर त्रास छ,’तामाङले भनिन, ‘जिल्लाबाहिर नगएको व्यक्तिमै संक्रमण हुँदा त्रास छ। त्यसमा पनि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमा समेत संक्रमण हुँदा झनै जोखिम देखिएको छ।’ हिरासतमा रहँदा ती किशोरको नजिकमा रहेका प्रहरी सहित उनका आफन्त गरी २० जनाको पिसिआर जाँच गर्न लागिएको उनले बताईन। कोरोना संक्रमण देखिएका १० जनालाई गोरखा अस्पतालमा आईसोलेसनमा राखेर उपचार गरिएको छ। स्वाब संकलन गरि पठाइएका मध्ये अझै ७३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार एकैदिन प्रदेशका विभिन्न जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये स्याङजामा मात्र १४ जना संक्रमित फेला परेका छन्। वालिङ नगरपालिकाका १३ र भीरकोट नगरपालिकाका एकगरि १४ जना संक्रमित थपिएका छन्। त्यस्तै बागलुङको बडिगाड गाउँपालिकाकाका नौ र ढोरपाटन नगरपालिकाका एक गरि १० जनामा पनि संक्रमण देखिएको छ। पहिलो पटक गोरखाका १० जनामा पनि संक्रमण देखिएको छ।  

गोरखाको गण्डकी नगरपालिकाका नौ र पालुङटार नगरपालिकाका एकगरि १० जनामा संक्रमण पुष्टि भएको हो। नवलपुरको हुप्सेकोट गाउँपालिकाका चारजनामा पनि संक्रमण देखिएको छ। प्रदेशम अहिलेसम्म संक्रमितको संख्या ११३ पुगेको निर्देशनालयले बताएको छ। प्रदेशका विभिन्न जिल्लामा भेटिएका ती संक्रमितलाई जिल्लास्थित अस्पतालका आइसोलेसनमा लैजाने तयारी भईरहेको निर्देशनालयले बताएको छ।  

 

 

प्रकाशित: २५ जेष्ठ २०७७ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App