११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

देशकै लामो झोलुंगे पुल उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ। अहिलेसम्म उक्त पुल सबैभन्दा लामो हो। तर बिहीबारदेखि उक्त रेकर्ड तोडिने भएको छ।

नवलपरासी (पश्चिम) सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ। यो पुल डेढ किलोमिटरभन्दा पनि लामो रहेको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेपछि उक्त पुल सञ्चालनमा आउने भएको छ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–५ मा बनेको सो पुलले सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ। यसबाट यी दुई गाउँमा बस्ने करिब ३५० परिवारलाई आवतजावत गर्न सजिलो हुने भएको छ। यसअघि नारायण नदीपारिका बासिन्दालाई आफ्नै देशमा ओहोरदोहोर गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो।

अब त्यो बाध्यता हट्ने भएको छ। सहरी विकास मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले सुस्तामा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको बताए। उनका अनुसार सो पुल एक हजार ५७१ मिटर लामो रहेको छ।

उक्त पुल बनाउन २०७२ सालबाट निर्माणको काम सुरु भएको हो। नौ वर्षपछि काम पूरा भएको छ। पुल बनाउन त्रिशूली आश्रय जेभीले विभागसँग ठेक्कासम्झौता गरेको थियो। यस काममा करिब २५ करोड रूपैयाँ खर्च भएको छ।

मन्त्रालयका अनुसार पुल उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सहभागी हुनेछन्। इतिहासकारका अनुसार नेपाल र इस्टइन्डियाबिच सुगौली सन्धि हुँदा पुलपारिको उक्त स्थान पनि नारायणी नदीवारि नै थियो। तर १९०२ सालमा नारायणी नदीले धार परिवर्तन गरी वारि बग्न थाल्यो। त्यसपछि पनि धार परिवर्तन गरी वारि बग्यो। त्यही कारण नारायणी नदीपारि नेपाली भूभाग रहेको छ। हाल त्यस भूभागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्कुल रहेका छन्।

 मन्त्रालयका अनुसार सुस्तामा पुल उद्घाटन हुनुअघि हाल सञ्चालनमा आएको सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने गरी कमला नदीमा बनेको डेढ किलोमिटर (१५००.४४ मिटर) लामो झोलुंगे पुल देशकै सबैभन्दा लामो झोलुंगे पुल हो।

उक्त पुलको उद्घाटन २०८० फाुगन १२ गते गरिएको थियो। त्यसअघि महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने झोलुंगे पुल सबैभन्दा लामो भनेर चिनिएको थियो। उक्त पुलको लम्बाइ एक हजार ४५२ मिटर छ।

स्थानीय पूर्वाधार विभागका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा दातृ निकायसमेतको सहयोगमा अहिलेसम्म देशभरि १० हजार ४१० वटाभन्दा बढी झोलुंगे पुल बनेका छन्। गत आव २०७९/८० मा मात्र ७४० वटा झोलुंगे पुल बनेका थिए। चालु आर्थिक वर्षमा ६ सयवटा पुल निर्माण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ।

२०७५ सालमा तत्कालीन सरकारले सार्वजनिक तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गर्ने कार्यक्रम ल्याएको थियो। उक्त कार्यक्रमबाट पहिचान भएका १४३ तुइनमध्ये अहिलेसम्म १४१ वटालाई झोलुंगे पुलले प्रतिस्थापन गरिसकेको विभागको भनाइ छ।

प्रकाशित: १० आश्विन २०८१ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App