२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

रविसहित ६५ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो माग दाबी गर्न प्रहरीको राय

.

पोखराको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी मुद्दामा ६५ जनालाई प्रतिवादी बनाउन कास्की प्रहरीले राय दिएको छ।

उक्त सहकारी ठगी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जीवी) सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी श्यामबहादुर ओलीयाले जानकारी दिए।

उनले नागरिकन्यूजसँग भने, ‘कास्कीमा अनुसन्धान सकेर ६५ जना प्रतिवादी बनाउन राय दिएका छौं। उनीहरूमध्ये ५१ जनाको नाम वतन खुलेको छ। आज उनीहरूमाथि मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाएका छौं। बाँकी १४ जनाको वतन खुलेको छैन। वतन खुले लगतै उनीहरुविरुद्ध पनि मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाउँछौँ।’

प्रहरीले ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गर्न पनि राय दिएको छ। त्यस्तै, उनीहरुविरुद्ध सहकारी ठगीसहित संगठित अपराध, तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अभियोजन गर्न प्रहरीले राय दिएको उनले बताए।

जीवी राईविरुद्ध भने अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै थप कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको निष्कर्ष छ।

६५ जना प्रतिवादीमध्ये १९ जनाविरुद्ध यसअघि नै अभियोजन भइसकेको छ। बाँकी प्रतिवादीमध्ये ३७ जना अझै फरार रहेको कास्की प्रहरीले जनाएको छ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपश्चात् सरकारी वकिलको कार्यालयले उनीहरु विरुद्ध मुद्दा चल्ने वा नचल्ने निर्णय गर्नेछ।

मुद्दा चल्ने निर्णय भएमा उनीहरुविरुद्ध पूरक अभियोजन लगिने जिल्ला अदालत कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले बताइन्। यसअघि १९ जनाविरुद्ध अभियोजन भइसकेकाले बाँकीलाई पूरक अभियोजन गरिने उनको भनाई छ।

उनका अनुसार प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन भइसकेको छैन। त्यसैले प्रतिवेदन अध्ययनका लागि थप समय आवश्यक पर्ने भएकाले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थपका लागि माग गरिनेछ।

‘म्याद नथपी अभियोजनबारे निर्णय गर्न सकिँदैन, उनले भनिन्, ‘थपिएको समयमा अध्ययन गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गर्छौँ।’

सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध पुस ५ गतेभित्र प्रहरीले मुद्दा चलाई सक्नु पर्नेछ। संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा रवि लामिछाने लगायतलाई कारबाही गर्न सिफारिस गरे लगत्तै गत असोज ६ गते प्रहरीले रवि र जिवीका पार्टनर पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो।

रविलाई कात्तिक २ गते पक्राउ गरिए पनि छविलाई पक्राउ गरेकै मितिले ९० दिन भित्रमा अभियोजन गरिसक्नुपर्ने भएकाले पुस ५ गतेभित्र त्यसबारे सरकारी वकिलको कार्यालय निष्कर्षमा पुगिसक्नुपर्नेछ।

सरकारी वकिलको कार्यालयले पेश गरेको मुद्दाका आधारमा तथ्य हेरेर न्यायाधीशले रवि लामिछाने, छविलाल जोशीलगायतलाई पुर्पक्षका लागि पठाउने वा धरौटीमा रिहा गर्न आदेश दिनेछन्।

कास्कीमा मुद्दा नचल्ने निर्णय भएमा उनलाई तत्कालै पक्राउ गरेर अन्य जिल्लामा लैजाने तयारीमा प्रहरी छ। रविविरुद्ध कास्कीबाहेक रुपन्देही, चितवन, काठमाडौं र पर्सामा समेत पक्राउ पुर्जी जारी भई अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ पुस २०८१ १९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App