पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीन मुखे झोलुङ्गे पुल निर्माण सुरु भएको छ। भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १२ र १२ नम्बर वडा जोड्ने गरेर पुल निर्माण सुरु गरिएको हो।
तीन मुखे पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवम् पर्यटकीय क्षेत्र खटाङमा निर्माण हुने पुलले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। ‘यो तीन मुखे झोलुङ्गे पुलले गुर्भाकोटका तीन वटा वडालाई मात्रै जोड्दैन, समग्र देशकै अर्थतन्त्रको उन्नति र विकासका लागि महत्त्वपूर्ण टेवा पु¥याउँछ,’ उनले भने, ‘यहाँको धार्मिक पर्यटन र अन्य पर्यटन विकासका लागि पुल निर्माण सम्पन्न भएपछि महत्त्वपूर्ण योगदान पु¥याउँछ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले नदी उत्तरतर्फ बग्ने स्थानलाई पवित्र तीर्थस्थल मान्ने गरिएकाले पनि यसको महत्त्व अझ धेरै रहेको बताए। खड्काले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरे।
सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीन मुखे पुल बन्ने बताए। उनले २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। ‘यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ,’ उनले भने, ‘नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीन मुखे पुलहरू मध्ये यो सबैभन्दा लामो हो।’
इन्जिनियर थापाका अनुसार खटाङ टापुमा बन्ने टावरको उचाइ २५।२३ मिटरको हुनेछ। पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्रीगीता कन्स्ट्रक्सनले पाएको छ। निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाइण्डेशन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ।
सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइँदा २५ वटा पिल्लर निर्माण हुनेछन्। यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइँदा १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसीसी फाउण्डेशन निर्माण गरिनेछ। घुमखहरे होचोँ क्षेत्र भएकाले त्यहाँ टावर निर्माण गर्न लागिएको उनले बताए। ‘अरु दुई क्षेत्र मुख्य टावर बराबर छन्को उचाइमा छन्, घुमखहरे मात्रै होचोँ छ,’ उनले भने, ‘त्यहीँ भएर घुमखहरेमा १६ मिटर गहिराइँदा १४ वटा पिल्लर निर्माण गर्न लागिएको हो।’
पुल तीनतर्फ बराबर लम्बाइका हुने छन्। तीन वटै पुल मुख्य टावरदेखि २१८.२० मिटर लामा हुनेछन्,’ उनले भने, ‘सोही अनुसार तीन तिरै फाउन्डेसन निर्माणको काम भइरहेको छ।’ निर्माण व्यवसायी श्रीगीता कन्स्ट्रक्सनका इन्जिनियर उमङ्ग गिरीले समयमै निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। ‘अहिलेसम्म हामीले निर्माण गरेका पुलहरू समय अगावै सम्पन्न गरेका छौँ,’ उनले भने, ‘यो पुलको निर्माण पनि समय अगावै सम्पन्न हुन्छ।’ पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो।
प्रकाशित: २ पुस २०८१ १४:५६ मंगलबार