२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

सकियो भक्तपुर महोत्सव, पुस १२ देखि मध्यपुर महोत्सव हुने

पाँंच दिने भक्तपुर महोत्सव मंगलबार सकिएको छ। भक्तपुर दरबार क्षेत्रमा एक कार्यक्रम गर्दै महोत्सव समापन गरिएको घोषणा गरिएको हो।

महोत्सव अवधिभर सिङ्गो भक्तपुर नगरपालिका क्षेत्र महोत्सवमय बनेको थियो। भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडाहरू तथा टोल टोलमा विभिन्न प्रदर्शनी भएका थिए।

महोत्सवको क्रममा सामान्य दिनहरूमा दैनिक एक लाख र शनिबार अनि आइतबार सार्वजनिक बिदाको दुई दिन अनि अन्तिम दिन दुई दुई लाख आन्तरिक तथा बाह्य पर्यटकहरू महोत्सव हेर्न आएको अनुमान छ।

भक्तपुर महोत्सव सकिएसँगै जिल्लाकै अर्को नगरपालिका मध्यपुर थिमिमा पुस १२ गतेदेखि मध्यपुर महोत्सव हुँदैछ। पूर्व घोषित तालिका अनुसार पुस १२, १३ र १४ गते गरी तीनदिने मध्यपुर महोत्सव हुने भएको हो।

पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ ग्रिने आयोजक मध्यपुर थिमि नगरपालिकाले जनाएको छ। महोत्सव मुख्य गरी थिमि शंखधरचोकदेखि नगदेश र बोदे हुँदै तिगनीको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्ती क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिने जनाइएको छ। यसरी यो महोत्सव करिब ५.५ किलोमिटर लामो क्षेत्रमा सञ्चालन हुने जनाइएको छ।

भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्र भागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाले सुसम्पन्न भएको र यही कारण आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्राउन महोत्सव गर्न लागेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो।

प्रकाशित: २ पुस २०८१ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App