विभागीय टोली एपिएफ क्लब र मच्छिन्द्र लगातार चौथो खेलसम्म विजययात्रा जारी राख्दै राष्ट्रिय लिगअन्तर्गत अंकतालिकाको शीर्ष दुई स्थानमा उक्लिएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मच्छिन्द्रले चित्लाङ एफसीमाथि ३–१ को जित निकाल्दा एपिएफले जावलाखेल युथलाई २–१ ले हरायो। यससँगै लगातार चौथो खेलसम्म एपिएफ र मच्छिन्द्रले विजययात्रा कायम राखे। यी दुई नै यस राष्ट्रिय लिगमा चौथो खेलसम्म जित निकाल्ने टोली हुन्। दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मच्छिन्द्रको जितमा अलिजोन अलिजोनोभ, प्रदीप बुढाथोकी र जोनाथन कान्टिलाना जोरिल्लाले गोल गरे। चित्लाङका विज्ञान खड्काले गोल फर्काए। चित्लाङले एन्फा प्रेसिडेन्ट लिगबाट छनोट हुँदै राष्ट्रिय लिग खेलिरहेको छ। जितबाट राष्ट्रिय लिगको यात्रा सुरु गरेको चित्लाङले लय जारी राख्न सकेन।
दोस्रो खेलमा बराबरीको नतिजा निकालेको चित्लाङले पछिल्ला दुई खेलमा लगातार हार सामना गर्यो। पहिलो हाफमा एक गोल मात्र भयो। दोस्रो हाफमा भने तीन गोल निस्कियो। खेलको ३०औं मिनेटमा प्रदीपको गोलबाट मच्छिन्द्रले अग्रता लियो। पहिलो हाफमा मच्छिन्द्रले १–० को अग्रता लियो। ६५औं मिनेटमा मच्छिन्द्रका जोनाथनले गोल गरे। यससँगै मच्छिन्द्रले अग्रता दोब्बर बनाउँदै चित्लाङमाथि दबाब बनायो। चार मिनेटपछि नै मच्छिन्द्रले तेस्रो गोल गर्यो। अलिजोनको गोलसँगै मच्छिन्द्र सहज जिततर्फ अग्रसर देखियो तर एक मिनेटपछि नै चित्लाङले गोल गर्दै खेलमा फर्कने संकेत गर्यो।
चित्लाङका विज्ञान खड्काले गोल गरे तर त्यसपछि बाँकी समयमा चित्लाङले गोल फर्काउन सकेन र लगातार दोस्रो हार सामना गर्यो। मच्छिन्द्रका जोनाथन कान्टिलाना प्लेअर अफ दी म्याच घोषित भए। जितसँगै मच्छिन्द्र चार खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
समान खेलबाट चित्लाङको ४ अंक छ। तेस्रो स्थानको लालीगुराँस एसोसिएसनको चार खेलबाट १० अंक छ। त्यसअघि एन्फा कम्प्लेक्समा नै भएको खेलमा एपिएफले जावलाखेल युथमाथि साँघुरो जित निकाल्यो। खेलमा अग्रता जोगाउन नसक्दा जावलाखेलले हार सामना गरेको हो। एपिएफका समीराज थोकरले दुई गोल गरे।
जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल गरेका थिए। खेलको २०औं मिनेटमा धर्बेन्द्रको गोलबाट जावलाखेलले सुरुआती अग्रता लियो। त्यो गोलसँगै जावलाखेल पहिलो हाफमा १–० ले अगाडि रह्यो तर दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै एपिएफले दुई गोल गर्दै जित निकाल्यो। ५८औं मिनेटमा समीराजले गोल गर्दै एपिएफलाई बराबरीमा ल्याए। उनले नै ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै एपिएफलाई पुनरागमनसँगै जित दिलाए। उनी म्यान अफ दी म्याचसमेत भए। जितसँगै एपिएफले चार खेलबाट १२ अंक बटुलेको छ।
मच्छिन्द्रसँग समान अंक भए पनि एपिएफ गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। जावलाखेलको भने यो तेस्रो हार हो। जावलाखेलको तीन अंक मात्र छ। उसले एक मात्र जित श्री भगवतीसँग निकालेको थियो। यसअघि एपिएफले पहिलो खेलमा फ्रेन्ड्स १–० र दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४–१ ले हराएको थियो। तेस्रो खेलमा पनि विभागीय टोलीले संकटामाथि जित निकालेको थियो।
प्रकाशित: १५ माघ २०८२ ०६:२६ बिहीबार





