प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था सुधार गर्न र समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, “देशको आर्थिक हिसाब नाजुक बनाएको रहेछ, त्यसलाई हामी फेरी फर्काउने र माथि उठाउने प्रयास गर्दै छौं। देशको अवस्था सुधार गर्नु छ, गरिबीबाट माथि उठाउनु छ, सुशासन दिनु छ, र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक छ। कामको आधारमा कारबाही गरिने छ, मुख हेरेर होइन। देशमा सुशासन सुनिश्चित गर्नका लागि हामीले जनतालाई दुख नपुर्याउने सुनिश्चितता दिनु पर्छ।"
उनले जनताप्रति सरकारको सेवाभावको महत्वमा जोड दिँदै भने, “हामी सबै तहका सरकारहरूले जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर काम गर्नु पर्छ।"
प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरीको कार्यप्रवृत्तिमा परिवर्तन आएको भन्दै त्यसलाई सराहना गरे। उनले भने, "नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बन्नुपर्छ। नगर प्रहरी देख्दा जनताले रक्षक देखिरहेको महसुस गर्नु पर्छ। जनता आतङ्कित भएर आफ्ना सामान लुकाउने अवस्था आउनु हुँदैन। हामी जनताको सेवक हौं, शासक र हाकिम बन्ने प्रवृत्तिलाई त्याग्नु पर्छ।"
प्रधानमन्त्री ओलीले वर्तमान सरकारको उद्देश्यलाई स्पष्ट गर्दै भने, “व्यवस्था परिवर्तनपछि पूर्वाधार क्षेत्रमा महत्वपूर्ण विकास भएको छ। सरकार अभिभावकका रूपमा काम गर्दै गरीब र असहायलाई सहारा दिँदै अघि बढेको छ। मुलुकमा व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारी वृद्धि मात्र नभएर थुप्रै ठुला उद्योग पनि सञ्चालनमा आएका छन्।"
कार्यक्रमको क्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्रणाली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि नयाँ मोबाइल एप्सको शुभारम्भ गरे।
प्रकाशित: २ पुस २०८१ १५:१० मंगलबार