११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुख्खा पहिरोमा परी कार पुरियो, चार यात्रुको सकुशल उद्धार

तस्बिर: मुग्लिन बजार

धादिङको गल्छी गाउँपालिका-४ चिरौदीस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा एक कार पुरिएको छ। बिहीबार साँझ करिब ७:२० बजे गजुरीतर्फबाट काठमाडौं जाँदै गरेको ग २ च ७८८५ नम्बरको कार पहिरोमा पुरिएको हो।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार पहिरोले उक्त कारलाई धकेलेर चिरौँदी खोलामा खसालेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी नायब निरीक्षक कासिराम बुढाको कमाण्डमा र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा २५ जनाको टोली घटनास्थलमा खटाइएको थियो। कारमा सवार चार जनालाई सकुशल उद्दार गरी उपचारका लागि बैरेनी अस्पताल पठाइएको छ।

घटनास्थलमा दुई वटा जेसीबी पुगेर पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण राजमार्गको दुईतर्फी यातायात अवरुद्ध भएको छ भने सडक खुलाउन प्रयास जारी छ।

पहिरोमा परी भारतीय नम्बर प्लेटको एक बसमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। पानी पेरकोले पहिरो पन्छाउन केही समस्या लाग्ने प्रहरीको भनाइ छ।

प्रकाशित: १० आश्विन २०८१ २०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App