११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविले पुराना दललाई होच्याएर भ्रम फैलाए: राजीव ढुंगाना

फाइद्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पुराना राजनीतिक दललाई होच्याएर जनतामा भ्रम फैलाएको आरोप लगाएका छन्।

नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई इटहरीद्वारा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य ढुंगानाले भने- ‘लामिछाने दुई पटक गृहमन्त्री हुँदा विभिन्न व्यक्तिलाई आक्षेप लगाएर फाइल खोलेर देखाई दिन्छु भनेर धम्क्याए। तर, उनी नै सहकारी, राहदानी र नागरिकता काण्डमा मुछिएका छन्।’

ढुंगानाले नयाँ राजनीतिक दललाई घमण्ड त्याग्न पनि आग्रह गरे। ‘नयाँ पार्टी मात्र भएर हुँदैन, नयाँ प्रष्ट भिजन र चिन्तन चाहिन्छ, घमण्ड होइन,’ उनले भने, ‘त्यसैले नयाँ दलले जादुको छडीजस्तो परिवर्तन गराउँछु भनेर अभिव्यक्ति दिनु जायज छैन, घमण्ड गर्नु पनि आवश्यक छैन।’

अब कुनै एउटै पार्टीले मात्र देश बनाउन सक्ने अवस्था नभएको उनले जिकिर गरे। ‘अब कुनै एउटा दलले मात्र चाहेर देश बन्ने अवस्थामा छैन,’ उनले भने ‘सबै राजनीतिक दल मिल्नुको विकल्प छैन।’ उनले राजनीतिक दलहरुलाई झगडा नगरीकन हातेमालो गरेर अघि बढ्न पनि सुझाए।

‘नयाँ नेपालको कल्पनाका लागि सबै दल मिलेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘पुरानै पारामा एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्नु राजनीतिक हिसाबले जायज हुँदैन।’

उनले विद्यार्थी सङ्गठनलाई पनि विद्यार्थीको हकहित, शैक्षिक वातावरण स्थापना गर्न र शैक्षिक अभिवृद्धिका लागि मात्र राजनीति गर्न सुझाए।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् जनता बहुमुखी क्याम्पस इटहरी सञ्चालक समितिका अध्यक्ष विकास केसीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रास्वपा सभापति रवि लामिछाने कानुनभन्दा माथि नभएको बताए।

‘मेडिकल व्यवसायी प्रसाईं र रास्वपा सभापति लामिछानेले कानुनको अधीनमा रहेर गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘यदि कानुनलाई उल्लङ्घन गर्ने हो भने सजाय भोग्न तयार हुनुपर्छ।’

सो क्रममा विविध सांस्कृतिक कार्यक्रम समेत पनि प्रदर्शन गरिएको थियो।

प्रकाशित: ८ आश्विन २०८१ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App