११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भ्रष्टाचार आरोपी हाकिमसँगै लेखापालको सरुवा !

रौतहटको गढीमाई नगरपालिकामा करोडौँको भ्रष्टाचारको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव र लेखापाल राकेश रामको सरुवा भएको छ। लगातार विवादास्पद भुक्तानीमा मुछिएका यादव र रामको केही दिनको अन्तरालमै सरुवा गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल रामले आर्थिक वर्ष २०८०/८१ मा ससर्त अनुदानतर्फ फिर्ता गर्नुपर्ने करिब २ करोड रुपैयाँ फरक शीर्षकमा खर्च गरेका थिए। यस्तै, केशरी एन्ड सन्स प्रालिले अधुरो सप्लाई गरेको ह्यान्ड पाइप, मोटर, र स्प्रे ट्यांकीको १ करोड ५४ लाख १९ हजार ७२० रुपैयाँको भुक्तानी पनि दुवैले गरेका थिए।

उनीहरुमाथि बजारमा २ हजार ७०० रुपैयाँमा पाइने स्प्रे ट्यांकीलाई ८ हजार ४०० रुपैयाँका दरले भुक्तानी गरी यादव र रामले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

नगर प्रमुख श्यामप्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल रामले गलत तरिकाले भुक्तानी गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै, सामुदायिक विद्यालयमा डिजिटल बोर्डका लागि आएको ५० लाख रुपैयाँ नकिनीकनै बिल भरपाई बनाएर रकम निकालेको आरोपसमेत दुवै जनामाथि लागेको छ।

भ्रष्टाचारको व्यापक चर्चापछि सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत यादवलाई मन्त्रालयमै तानेको छ भने लेखापाल रामको काज फिर्ता गरिएको छ।

गढीमाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा संजीव साहलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, माधवनारायण नगरपालिकामा कार्यरत लेखापाल राम बलम यादवलाई गढीमाई नगरपालिकाको लेखापालको जिम्मेवारी दिइएको छ।

विवादास्पद छविका यादव र रामको सरुवापछि गढीमाई नगरपालिकाका जनप्रतिनिधिमा उत्साह देखिएको छ। नगर प्रमुख श्यामप्रसाद यादवले अबको समयमा पारदर्शी ढंगले विकास, निर्माण तथा आर्थिक कारोबार हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १० आश्विन २०८१ २१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App