११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढे: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्दै गएको चेतावनी दिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले देशलाई विदेशी हस्तक्षेपको 'इपिसेन्टर' बन्ने खतरा रहेको बताएका हुन्।

उनले संसारभरको राजनीतिक परिस्थिति नेपालको भूराजनीतिलाई प्रभावित गर्दै गर्दा राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

दाहालले प्रतिक्रियावादी शक्तिहरू लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अघि बढिरहेको र यो परिस्थितिमा देशको राष्ट्रिय स्वाधीनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्र गर्न सक्ने बताए।

दाहालले भ्रष्टाचारविरुद्धको महाअभियानकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको स्पष्ट पार्दै आन्दोलनको बलमा केही महिनाभित्रै परिस्थिति उल्ट्याउन सकिने विश्वास व्यक्त गरे।

उनले भने, "नेपाल अहिले भूराजनीतिक इपिसेन्टरमा परिणत हुँदै छ। विशाल भारत र चीनको बीचमा रहँदा, पश्चिमी राष्ट्रहरुको बढ्दो प्रतिष्पर्धाले नेपालको स्वाधीनतामा गम्भीर चुनौती उत्पन्न भएको छ। प्रतिक्रियावादी शक्तिहरू लोकतन्त्र र संविधानका मूल्यमा प्रहार गर्दैछन्, जसमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल झन् बढ्दैछ। यस्तो अवस्थामा वामपन्थी शक्ति नै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्षम छ।"

अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको कारबाहीलाई ऐतिहासिक बताउँदै भूमाफियाका विरुद्ध छेडिएको अभियानले आफूलाई सरकारबाट बाहिरिन बाध्य पारेको उल्लेख गरे। उनले भने, "जनताको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याउन सकिन्छ र जनताको जित सुनिश्चित गर्न सकिन्छ।"

वामपन्थी एकताका बारेमा छिट्टै नयाँ खबर आउने संकेत गर्दै उनले विद्यार्थी नेताहरुलाई सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरे। 

प्रकाशित: १० आश्विन २०८१ २०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App