१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडाअध्यक्षको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको अगैयामा रहेको राप्तीसोनारी गाउँपालिका कार्यालय । तस्बिर : नागरिक

बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् । संक्रमित वडाअध्यक्षसँग सम्पर्कमा रहेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष र कर्मचारी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बसेका हुन् ।  

गाउँपालिका अध्यक्ष थारुसहित केही जनप्रतिनिधि र कर्मचारी वडा नम्बर ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा बसिरहेको अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरीले बताए ।  

‘वडाअध्यक्ष ज्युमा कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसिरहेका छौं, अध्यक्ष ज्यु पनि क्वारेन्टिनतिरै हुनुहुन्छ,’ उनले भने । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीका अनुसार बुधबार राप्तीसोनारीको वडा नम्बर ८ मा ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि वडा नम्बर २ मा ३ जना, ७ मा २ र वडा नम्बर ९ मा २ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त गाउँपालिकामा अहिलेसम्म १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  

वडा नम्बर ८ मा २७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो । वडा नम्बर ९ मा ६ जनाको पिसिआर परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उक्त वडामा यसअघि नै एक जना युवकमा पनि कोरोना पोजेटिभ आएको थियो । वडा नम्बर २ मा २१ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा पोजेटिभ आएको छ । यसैगरी वडा नम्बर ७ मा ४६ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । वडा नम्बर ५ मा संकलन गरिएको २१ ज्नाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए ।  

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना पोजेटिभ आएका सबै ब्यक्तिलाई आइसोलेसनमा राखिएको बताए । गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन स्थापना गरिसकेको छ । कोरोना संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनाए । ‘कोरोना संक्रमण पुष्टी भएका ब्यक्तिको सम्पर्कमा रहेकालाई छुट्टै बस्न भनेका छौं, सम्पर्कमा रहेका ब्यक्तिको नाम लिस्टिङ हुदैछ,’ उनले भने ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App