१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना जितेर फर्केका दंगाली भन्छन् : ‘संसार जितेर फर्केँ’

कोरोना जितेर काठमाडौँबाट फर्केका भिमवहादुर ओली (दायाँ) र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे । तस्बिर सौजन्य : बसन्त विवश आचार्य ।

काठमाडौँको पाटन अस्पतालको एउटा बेडमा जीवन अस्ताउँछ कि भन्ने त्रासदीले हप्ता दिन सम्म सतराईरह्यो । विश्वका धेरै देशहरुमा ज्यादती मच्चाईरहेको ‘कोरोना’ले आफूलाई कसरी छोड्ला र ? तथापी मनोबल गिर्न भने पाएन । कोरोना संक्रमण पुष्टि भएर काठमाडौँको पाटन अस्पतालमा अति त्रासदीपूर्ण दिन बिताएका तुलसीपुरका भिमवहादुर ओली त्यहि ‘उच्च मनोबल’ ले कोरोनालाई परास्त गरेर घर फर्किका छन् । ‘कोरोनाको औषधी भए पो खानु, त्रासदीका बिच मनोबल गिर्न दिएँन,’ उनले भने ‘यहि उच्च मनोबलले कोरोनालाई जितेर फर्कन पाएँ ।’  

पश्चिम दाङको शान्तिगर गाउँपालिका वडा नम्बर ५ का बहिनी ज्वाईँको उपचारका लागि ९ चैतमा काठमाडौँ गएका थिए भिमवहादुर । टाउकाको (ट्युमर) बिरामी ज्वाईँलाई लिएर काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका भिमवहादुर त्यहिँ कोरोना संक्रमित भए । झण्डै एक महिनासम्मको अस्पताल बसाई सुरक्षित रह्यो । कपिलवस्तुका घाँटीको समस्या भएका एक बालकलाई उपचारका लागि शिक्षण अस्पतालमा पुर्‍याइयो । ति बालकको स्वास प्रश्वासमा समस्या देखिन थाल्यो । उनको कोरोना परिक्षण भयो, ति बालक कोरोना पोजेटिभ प्रमाणित भए । ‘कपिलवस्तुबाट एकजना घाँटीको समस्या भएका बालकलाई नाक कान घाँटीको वार्डमा राखियो,’ भिमवहादुर भन्छन् ‘ति बालकलाई कोरोना भैसकेको रहेछ ।’

उक्त वार्डमा रहेका सबै बिरामी अनि भिमवहादुरसहित सबै बिरामी कुरुवाको पनि कोरोना परीक्षण भयो । १ जेठमा गरिएको परीक्षणको रिपोर्ट २ गते नेगेटिभ आएको भनियो । कोरोना संक्रमणको आशंकाले भयभित भैसकेको भिमवहादुरको मन प्रफूल्ल भयो । ‘१ गते स्वाब संकलन गरेर परीक्षण भयो,२ गते सबैको नेगेटिभ आएको भनियो’ उनले भने ‘सुरुमा त कोरोनाले समातिहाल्यो कि भनेर अति डराएको थिएँ, तर पछि नेगेटिभ भनेपछि ठूलो मन भयो ।’

भिमवहादुरको यो खुशी पनि लामो समय टिक्न पाएन । अर्को दिन ३ जेठमा घरबाट फोन गयो ‘हामीहरुलाई कोरोना जाँच गर्ने भनेर एम्बुलेन्स लिन आएको छ, तपाईलाई कोरोना लागेको हो ?’ भिमवहादुरलाई कोरोना लागेको भन्ने प्रमाणित भएपछि उनको परिवारको कोरोना जाँचका लागि तुलसीपुर स्थित घरका परिवारलाई लिन एम्बुलेन्स पठाइएको थियो । भिमवहादुरलाई घरबाट फोन आउँदासम्म शिक्षण अस्पतालबाट पाटन अस्पताल पुर्‍याइसकिएको थियो । ‘घरबाट फोन गरेपछि बल्ल मैले थाहा पाएँ मलाई कोरोना लागिसकेको रहेछ भन्ने,’ भिमवहादुरले भने ‘घरबाट फोन आएपछि सोधेँ, कोरोना लागेको हो भनियो ।’

आफूलाई कोरोनाले आक्रमण गरेको थाहा पाएपछि जीवन नरहने चिन्ताले पिरोल्न थाल्यो । घर परिवार तथा आफन्तहरुको तारन्तारको फोनले उनलाई झनै त्रास दिईरहेको थियो । ‘ कोरोना लागेको थाहा भएपछि मुटु फूट्ला झैँ भयो, आँफूलाई केहि गरे सम्झाउन सकेको थिएँन’ उनले भने ‘तैपनि मनोबल गिर्न दिएँन, शायद मनोबल खस्केको भए म कोरोनाको शिकार भैसकेको हुन्थेँ ।’ उनलाई अस्पताल बसाईको केहि दिन सम्म अधिक त्रासदीले सताएको भएपनि त्यसपछिका दिनमा उनिभित्र त्रासदी कम बन्दै गयो । ‘कुनै लक्षण देखिएको थिएन, म पहिलेकै जस्तै थिएँ,’ उनले भने ‘अस्पतालमा गरिएको राम्रो व्यवहार र प्रशिक्षणले मलाई कोरोनाको डरसंग जुध्न धेरै सहज भयो ।’ 

३ जेठमा कोरोना संक्रमण पुष्टि भएका भिमवहादुरको १२ गतेको परीक्षण रिपोर्ट नेगेटिभ भयो । ‘कोरोनाले मानसिक रुपमा जति सताउँछ, त्यहि ठूलो मलाई लागेन,’ उनले भने ‘मैले ९ दिनमै कोरोनालाई जित्न सकेँ ।’ कोरोना संक्रमणका कारण ‘जीवन र मरणको दोसाँधमा उभिएको’ आभाष गरेका उनले जेठ १२ गते संसार जितेकै अनुभुती गरे । उनले थपे ‘मैले कोरोना मात्रै हैन,संसारै जिते जस्तो लाग्यो ।’

निको भएर अस्पतालबाट निस्कीए पनि अब कहाँ जाने ? कसरी गाउँसमाजमा घुलमिल हुने ? उनको मनमा अनेकन प्रश्न उब्जन थाले । तुलसीपुर उपममानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उनले फोन गरे । उपमहानगरको एम्बुलेन्स उनलाई लिन काठमाडौँ पुग्यो । सोही एम्बुलेन्सबाट उनि बुधवार दाङ आईपुगे । तुलसीपुरका जनप्रतिनिधिसंगै तुलसीपुर रक्षाचौरमा रहेको क्वारेन्टिनमा पुगे । उनले क्वारेन्टिनमा रहेका नागरिकहरुलाई कोरोना संक्रमणको अनुभुती बाँडे । ‘मैले कोरोनाका बारेमा अहिले गाउँका नागरिकहरुलाई पनि अनुभव सुनईरहेको छ,’ उनले भने ‘मैले सबैलाई यहि भनेको छु उच्च मनोबलले कोरोनालाई सजिलै जितिन्छ ।’  

 

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App