२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सयभन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा

वार्षिक सवा १५ खर्ब रुपैयाँ व्यापार घाटा रहेको नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा डेढ सय मुलुकसँग व्यापार भएकोमा एक सय १५ देशसँग नेपालको व्यापार घाटा रहेको छ भने ३३ देशसँग मात्रै नाफा रहेको छ ।  

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिर मसान्तसम्म वैदेशिक व्यापारमा  नेपालको वैदेशिक व्यापार घाटा छ खर्ब ४९ अर्ब ६८ करोड ९० लाख रुपैयाँ व्यापार घाटा रहेको छ । पाँच महिनामा नेपालले सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको सामग्री मात्रै नेपालबाट निर्यात भएको छ ।

वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतसँग रहेको छ भने दोस्रोमा चीन रहेको छ । दुवै देशसँग खर्बौंको व्यापार हुँदा त्यसबाहेकका अन्य देशसँग हजारदेखि अर्बसम्मको व्यापार भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।  

छिमेक र सार्क राष्ट्रसँग  

पाँच महिनामा नेपाललाई भारतसँगको व्यापारमा तीन खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ घाटा भएको छ । तथ्यांक अनुसार नेपालले भारतबाट चार खर्ब ३४ अर्ब ६४ करोड रुपैयाँको सामान आयात गर्दा ९५ अर्ब ४२ करोडको सामग्री निर्यात गरेको छ ।  

चीनसँग एक खर्ब ६३ अर्ब २६ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट एक अर्ब ६३ अर्ब ७३ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट ४६ करोड ६८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

भारतबाहेकका बाँकी सार्क मुलुकहरूमा नेपालको बाङ्लादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र भुटानसँग व्यापार घाटा देखिएको छ । मालदिभ्ससँगको व्यापारमा मात्रै फाइदा छ ।  

अफगानिस्तानबाट यी पाँच महिनामा ३७ करोड ३२ लाख ३५ हजारको वस्तु आयात हुँदा जम्मा २१ करोड ५१ लाख ३५ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यस्तै भुटानबाट ४३ करोड ५३ लाख रुपैयाँको वस्तु आयात हुँदा ३२ करोड १० लाख ४७ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।  

नाफा देखिएको माल्दिभ्सबाट ७३ हजार रुपैयाँको वस्तु आयात हुँदा ३८ लाख ५५ हजार रुपैयाँको वस्तु साम्रगी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।  

यस्तै सार्कका अन्य मुलुक बाङ्लादेशबाट दुई अर्ब ७८ करोड ४६ लाख रुपैयाँको आयात, २१ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको निर्यात, पाकिस्तानबाट १० करोड ८८ लाख ८३ हजारको आयात, आठ करोड ५७ लाख ८९ हजार रुपैयाँको निर्यात र श्रीलंकाबाट ११ करोड ८८ लाख रुपैयाँको आयात र एक करोड ८५ लाख ७४ हजार रुपैयाँको बराबरको वस्तु निर्यात भएको छ ।  

अन्य एसियाली देश  

एसियाको धनी राष्ट्र जापानबाट पाँच महिनामा तीन अर्ब ६९ करोड ४३ लाखको वस्तु आयात हुँदा ९४ करोड ५९ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

यस्तै दक्षिण अफ्रिकाबाट ४९ करोड ३३ लाख रुपैयाँको वस्तु आयात,  दुई करोड ६५ लाख रुपैयाँको निर्यात, मलेसियाबाट चार अर्ब ७५ करोड १६ लाख रुपैयाँ वस्तु आयात  हुँदा ९० करोड रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस्तै सिंगापुरबाट दुई अर्ब ३१ करोड ८९ लाख रुपैयाँ आयात हुँदा ५३ करोड २३ लाख रुपैयाँको निर्यात भएको छ ।  

खाडी मुलुकहरूमा युएईबाट २३ अर्ब ४५ करोडभन्दा बढीको आयात, ८४ करोड ५५ लाखको निर्यात, ओमनबाट २४ करोड १८ लाख रुपैयाँको वस्तु आयात, चार करोड ७५ लाख रुपैयाँको निर्यात, इजरायलबाट एक अर्ब ७२ करोडको आयात, २४ करोड ९० लाख निर्यात र इरानबाट ६६ लाख १३ हजार रुपैयाँको वस्तु आयात हुँदा पाँच लाख ४४ हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ ।  

अमेरिकी र युरोपियन मुलुक  

उता विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक संयुक्त राज्य अमेरिकाबाट यी पाँच महिनामा १० अर्ब ३५ करोडभन्दा बढी रुपैयाँको वस्तु आयात हुँदा सात अर्ब ४२ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।  

बेलायतसँग पनि नेपालको व्यापार घाटा नै देखिएको छ । यो अवधिमा बेलायतबाट एक अर्ब ७१ करोड बढीको आयात हुँदा एक अर्ब ४४ करोड बराबरको वस्तु निर्यात भएको छ ।  

दक्षिण अमेरिकी मुलुक ब्राजिल र अर्जेन्टिनाबाट पनि नेपालले अर्बौको वस्तु आयात गर्दा निर्यात नगन्य मात्रामा देखिन्छ । अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएकामा आठ लाख ८९ हजारको निर्यात देखिन्छ भने ब्राजिलबाट चार अर्ब ९८ करोड ५५ लाख रुपैयाँको आयात भएकोमा २७ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।  

उत्तर अमेरिकी मुलुक क्यानाडाबाट तीन अर्ब ६५ करोड ७५ लाख बराबरको वस्तु आयात हुँदा ६० करोड ७६ लाख रुपैयाँको मात्रै निर्यात भएको देखिन्छ ।

उता युरोपेली मुलुक फ्रान्सबाट तीन अर्ब ३१ करोडको आयात हुँदा ९६ करोड ६३ लाखको निर्यात, जर्मनीबाट दुई अर्ब १८ करोड बढीको आयात हुँदा दुई अर्ब १२ करोड रुपैयाँको निर्यात, इटालीबाट एक अर्ब ८६ करोडको आयात हुँदा ६६ करोडको निर्यात भएको देखिन्छ ।  

युद्धग्रस्त मुलुक युकेनसँग पनि नेपालको व्यापार घाटा कायम देखिन्छ । पाँच महिनामा युक्रेनबाट दुई अर्ब ६२ करोड ४३ लाख बराबरको वस्तु आयात हुँदा १५ लाख ४६ हजारको मात्रै निर्यात भएको छ । यस्तै रुसबाट दुई अर्ब बढीको आयात हुँदा सात करोड ४२ लाखको मात्रै निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।  

साना मुलुकसँग पनि व्यापार घाटा

भन्सार विभागको तथ्यांकअनुसार अफ्रिकाका गरिब र विश्वभरका स–साना मुलुकसँग पनि नेपालले व्यापार घाटा व्यापार घाटा बेहोरिरहेको देखिन्छ । जस्तो द्वन्द्वग्रस्त मुलुक सुडानबाटै नेपालले दुई करोड बढीको आयात हुँदा निर्यात शून्य छ । उता यमन, ट्युनिसिया, जिम्बावे, युगान्डा, केन्या, जस्ता देशसँग पनि नेपालको व्यापार घाटा देखिन्छ ।

व्यापारमा नाफा भएका देश

अमेरिकी सामोआ, बहामास, बारबाडोस, साइमन आइसल्यान्ड, कोलम्बिया, कंगो, क्रोएसिया, डेनमार्क, डोमिनिकन रिपब्लिक, फिजी, जर्जिया, घाना, आइसल्यान्ड, लाओ, जमैका, किर्गिस्तान, लेबनन, मालदिभ्स, माली, माल्टा, न्यु क्यालेडोनिया, नाइजर, नर्वे, पनामा, पपुवान्युगिनी, रोमानिया, सेचेल्स, स्लोभेनिया, सोमालिया, स्विडेन, सिरिया, तुर्क एन्ड काइकोस आइसल्यान्ड, उरुग्वे, इराक

व्यापार घाटा भएका देश

भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, जापान, इटाली, पाकिस्तान, श्रीलंका, बाङ्लादेश, भुटान, अष्ट्रेलिया, अफगानिस्तान, अस्ट्रिया, अजरबैजान, अर्जेन्टिना, ओमान, स्लोभेनिया, बेलारुस, बेल्जियम, बेनिन, बोस्निया एन्ड हर्जगोभिना, ब्रुनाई, ब्राजिल, बहराइन, बुल्गेरिया, क्यानाडा, केप भर्ड, चिली, चेक गणतन्त्र, कम्बोडिया, क्यामरुन, कोट डेल्भोइर, डोमिनिकन गणतन्त्र, जर्मनी, इरान, इजिप्ट, इस्टोनिया, इथियोपिया, आयरल्यान्ड, इजरायल, इन्डोनेसिया, कोस्टारिका, जोर्डन, जिम्बावे, कुवेत, कजाकिस्तान, कतार, केन्या, लक्जेमबर्ग, लाटभिया, लाइबेरिया, लिच्टेन्स्टेइन, लिथुआनिया, युक्रेन, मलेसिया, हङकङ, हंगेरी, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, टर्की, पराग्वे, पोर्चुगल, पोर्टो रिको, पोल्यान्ड, फिनल्यान्ड, फिलिपिन्स, ताइवान, तान्जानिया, सुरिनाम, स्वाजिल्यान्ड, सिंगापुर, साल्भाडोर, साउदी अरेबिया, सेनेगल, सर्बिया, साइप्रस, दक्षिण अफ्रिका, स्लोभेनिया, स्पेन, सुडान, स्विडेन, सर्विया, स्लोभाकिया, रुस, होन्डुरस, म्यानमार, मोरक्को, मोजाम्बिक, मेक्सिको, माल्डोभा, भेनेजुयला, भियतनाम, मलावी,  मंगोलिया, मेडागास्कर, थाइल्यान्ड, पेरु, यमन, युगान्डा, युगोस्लाभिया, युक्रेन, युएई, उरुग्बे, उज्वेकिस्तान, नामिबिया, नाइजेरिया, निकारागुआ, न्युजील्यान्ड, नेदरल्यान्ड्स, ट्रिनिनाड र टोबागो, ट्युनिसिया, टर्की, तुर्कमेनिस्तान ।

प्रकाशित: १४ पुस २०८२ २१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App