१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहाड उक्लिदै कोरोना संक्रमण

स्याङजामा मंगलबार दुईजना युवामा कोरोना संक्रमण पुष्टि भयो । केहीदिन अघि भारतबाट आएका उनीहरुको स्वाब पोखराको प्रयोगशालामा परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–७ का २० र २९ वर्षिय ती युवामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशका सातजनामा संक्रमण पुष्टि भएको छ ।  

यसअघि बागलुङमा पनि दुईजनामा संक्रमण देखिएको थियो । तर, बागलुङका दुवैजना निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक लम्जुङका एकजनामा कोरोना पुष्टि भएको छ । अरु दुईजना नवलपुरका छन् । लम्जुङका बासिन्दाको काठमाडौं र नवलपुरका बासिन्दाको चिवतनमा उपचार भईरहेको छ । मंगलबार स्याङजामा पुष्टि भएका दुईजना युवाको जिल्ला अस्पतालको आईसोलेसन कक्षमा उपचार भईरहेको छ । प्रदेशका ५ जना संक्रमित अहिले उपचाररत छन् ।  

स्याङजाका ती संक्रमित तीनदिन अघि भारतको गाजियावादबाद रेलमा आएर सुनौली हुँदै गाडिमा वालिङ आएका थिए । सुनौलीबाट आएका उनीहरुको समुहमा १० जना थिए । गाडिबाटै सिधै वालिङस्थित सामुदायिक क्वारेन्टिनमा बस्न पुगेका उनीहरुको समुहमा पछि अरु युवा पनि थपिएका थिए । तर ती मध्येका ५ जनालाई चापाकोट सारिएको थियो । भारतबाट आएकोले आशंकाको भरमा नौजनाको स्वाब परीक्षण गरेकोमा दुई जनाको पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।  

 नेपालमा कोरोना संक्रमण देखिन थालेको सुरुवातमै बागलुङका दुईजनामा संक्रमण देखिएको थियो । बागलुङका ती दुवै संक्रमित विदेशबाट आएका थिए । त्यसपछि प्रदेशका जिल्लामा संक्रमण देखिएको थिएन । भारतसँग सिमाना जोडिएका तराईका जिल्लामा धमाधम संक्रमण देखिँदा गण्डकी प्रदेश भने खासै प्रभाव परेको थिएन । तर पछिल्लो समय नवलपुरका दुईजनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै लम्जुङका एकजनामा पनि संक्रमण देखिएको थियो । लम्जुङका संक्रमित काठमाडौंमा फेला परेका थिए ।  

पछिल्लो समय कामका लागि भारत पुगेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । त्यही क्रममा गण्डकी प्रदेशका जिल्लामा पनि भारतबाट फर्किने गाउँलेको ओइरो छ । दिनहुँ सयौंको संख्यामा भारतबासि नेपालीहरु घर फर्किरहेका छन । घर फर्किरहेका उनै नेपालीबाट अहिले कोरोको संक्रमण फैलिन थालेको छन । ‘सुरुमै बागलुङमा संक्रमण देखिएपनि त्यसपछि तराईका भेगमा मात्र संक्रमण बढ्दो थियो,’ गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्मा भन्छन, ‘बल्ल अहिले पहाडतिर संक्रमण उक्लिन थालेको छ । सुरुमा जहाजबाट आएका यात्रुमा संक्रमण थियो, तर त्यो समुदायमा फैलिएन । तर, अब भने गाडि चढेर भारतबाट फर्केका नेपालीबाटै संक्रमणको त्रास बढेको छ ।’ 

सुरुका केही समय तराई र भारतसँग सिमान जोडिएका जिल्लामा संक्रमण बढ्दै गएकोमा गण्डकी प्रदेशमा त्यसको असर नदेखिएपनि अहिले प्रदेशका जिल्लामा युवाहरु भित्रिन थालेपछि संक्रमण पनि उक्लिन थालेको उनले बताए । गण्डकी बाहेकका प्रदेशका पहाडी जिल्लामा पनि संक्रमण फैलिन थालेको उनले सुनाए ।  

लकडाउनका कारण भारतमै रोकिएका नेपाली युवाहरु अहिले विभिन्न नाका हुँदै घर फर्किरहेका छन् । उनीहरुबाट पहाडी जिल्लाका समुदायमा संक्रमण फैलने त्रास बढेको शर्माले बताए । ‘बल्ल कोरोना पहाड पसेको छ भन्न मिल्छ,’ उनले भने, ‘अबको संक्रमण हिडेर वा गाडिमा आएका व्यक्तिबाट समुदायमा सर्ने सम्भावना बढेको छ ।’ अहिले हरेकजसो जिल्लाका लागि भारतबाट युवाहरु आईरहेका छन् । भारतसँग जोडिएको प्रदेशको नाका कमजोर भएकोले पनि अन्यत्रबाट भित्रिँदा भारतबासी नेपाली भित्रिन पाएको उनले बताए ।  

प्रदेशको मुल नाका स्याङजाको राम्दी र तनहुँको आँबुखैरेनीबाट दैनिक ३ सय जना भन्दा बढी युवाहरु विभिन्न जिल्लाका लागि आईरहेको स्थानीय तहका पदाधिकारीले बताएका छन् । ‘जति बढी युवाहरु भित्रिन्छन, उत्ति छिटो अब पहाडि भेगका समुदायमा संक्रमण फैलिन्छ,’ शर्माले भने, ‘त्यसैले क्वारेन्टिनको बसाईलाई कडाइ गर्न जरुरी छ ।’ अहिले भित्रिएका नागरिकलाई स्थानीय तहले क्वारेन्टिनमा राख्दै आएको पनि उनले बताए ।  

तनहुँका जनस्वास्थ्य प्रमुख शंकरबाबु अधिकारी पनि अहिले भारतबाट आउने युवाको लर्कोले जिल्लामा संक्रमणको त्रास बढेको बताउँछन् । उनका अनुसार तनहुँमा मात्र पछिल्लो साता २ सय ६६ जना भारतबाट आएका छन् । ती सबै क्वारेन्टिनमा बसेका छन । ‘गाउँगाउँका युवाहरु भारतबाट आइरहेका छन् । अहिलेसम्म तराईमा देखिएको संक्रमण अब पहाडि जिल्लामा पनि फैलिने त्रास छ,’ उनले भने, ‘संक्रमणको त्रासले गर्दा नै हामीले अहिले सबै स्थानीय तहलाई कम्तिमा ५० शैयाको क्वारेन्टिन बनाउन निर्देशन दिएका छौ ।’  

भारतबाट फर्किने नहुँदा लकडाउनका यो अवधिमा कतिपय स्थानीय तहले क्वारेन्टिन पनि बनाएका थिएनन । तर, अहिले भने सबैतिरका स्थानीय तहले क्वारेन्टिन बनाउन थालेका छन् । तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सम्भावित संक्रमित भित्रिने डरले क्वारेन्टिन बनाएको बताए । उनले स्थानीय दुईवटा विद्यालयमा अहिले ७० शैया र अरु दुुईठाउँमा १०–१० शैया गरि ९० शैयाको क्वारेन्टिन बनाईसकेको जानकारी दिए । ‘सुरुमा त हामीले तीनजनालाई मात्र क्वारेन्टिनमा राख्यौ । तर, अहिले ९० जना भित्रिसकेका छन,’ उनले भने, ‘भारतबाट आएका उनीहरुलाई खुलमखुला छाड्ने हो भने संक्रमण थामिसक्नु हुँदैन । त्यसैले क्वारेन्टिन बनाएर राखेका छौ । सबैगरि १५० शैया क्षमताको क्वारेन्टिन बनाउने योजना छ ।’ 

प्रकाशित: १४ जेष्ठ २०७७ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App