नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही हजार भाडाका मान्छे ल्याएर देश जलाउन खोज्ने प्रवृत्तिलाई अब छुट नदिइने चेतावनी दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन करोड नेपाली जनताले अब देश जलाउने कार्य टुलुटुलु हेरेर नबस्ने बताएका हुन्।
जेन-जी आन्दोलनको प्रसंग कोट्याउँदै उनले युवाहरूले नभई आन्दोलनमा घुसपैठ भएका अपराधी तत्वले विध्वंस मच्चाएको दाबी गरे।
‘मैले जेन-जीलाई भनेको छैन, जेन-जी कहाँ जलाउन पुग्या थिए र ? जेन-जीले होइन जलाएको, त्यहाँ अपराधी तत्वहरुको घुसपैठ थियो,’ अध्यक्ष ओलीले भने, ‘एक-दुई हजार भाडाका मान्छे ल्याएर देश जलाइदिने ? हामी हेर्याहेर्यै हुने ? तमाम ३ करोड नेपाली जनता हेरेर बस्ने ?’
पूर्वप्रधानमन्त्री ओलीले देश जलाउनेहरू देशद्रोही र अपराधी भएको टिप्पणी गरे। उनले भने, ‘म बेहिचक भन्न चाहन्छु, देश जलाउनेहरु देशद्रोही हुन्, अपराधी हुन्। कुनै आन्दोलनकारी होइनन्।’
संसद भवन, सरकारी कार्यालय र अदालत नै जलाउने कुरा सामान्य नभएको भन्दै उनले अब उप्रान्त देशमा यस्तो अराजकता हुन नदिने संकल्प गर्नुपर्ने बताए।
एमाले शान्तिको पक्षमा रहेको भन्दै उनले पार्टीले गठन गरेको ‘नेसनल भोलेन्टियर फोर्स’ लड्नका लागि नभई शान्ति सुरक्षा, संरक्षण र पुनः निर्माणका लागि भएको पनि स्पष्ट पारे।
प्रकाशित: २३ पुस २०८२ १७:१७ बुधबार





