८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै

नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । आत्महत्याका घटना नेपालमा मात्रै नभएर विश्वभरि नै हुने गरेका छन् ।  त्यसो त लकडाउनको अवधिमा पनि आत्महत्याका घटनामा कमी आएको छैन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नेपाल सरकारले मुलुक लकडाउन गरेको अवस्था छ । यो विषम परिस्थितिमा जिल्लामा भने आत्महत्याको घटना बढ्दै गएको छ ।  

गत चैत्र ११ देखि जेठ ४ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार जिल्लामा २६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । विष सेवन गरेर ५ र झुन्डिएर २१ जनाले आत्महत्या गरेको कार्यालयको विवरणमा उल्लेख छ । झुन्डिएर आत्महत्या गर्नेमा २ बालिका, ९ पुरुष र १० महिला रहेका छन् । त्यस्तै ५ पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् ।  

जिल्लामा यसरी आत्महत्याको संख्या वृृद्धि हुनु समाजका लागि नकारात्मक सन्देश भएको कानुन व्यवसायी एवं लकडाउनको अवधिमा गठन गरिएको मानव अधिकार व्यवस्था अनुगमन समितिका सदस्य देवकुमार मोक्तानले बताए । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ को सन्र्दभमा जिल्लामा मानव अधिकार व्यवस्था अनुगमन समिति गठन गरेको थियो । समितिका सदस्य मोक्तानका अनुसार जिम्मेवारी अनुसार लकडाउनको अवधिमा जिल्लाका सम्पूर्ण गतिविधिको निगरानी गरिएको छ । निगरानीकै क्रममा जिल्लामा यस्ता गतिविधि भएको पाइएको छ । यो विषम परिस्थितिमा यस्ता घटनाले समाजमा नराम्रो सन्देश जाने उनले बताए ।  

‘आत्महत्याको एउटै कारण सबैै व्यक्तिमा लागु हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘उदासिनता, रक्सी र अन्य लागु औषधिको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, बेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्न सक्ने छन् ।’ अहिले लकडाउनको समयमा वैदेशिक रोजगार, प्रविधि, समाजका अनेक समस्या झेल्न नसकेर आत्महत्या बढिरहेको निष्कर्षमा पुगेका बेला समाज बन्द, आर्थिक संकट जस्ता कारणले गर्दा मानिसहरुले आत्महत्याको बाटो रोजेको मोक्तान बताउँछन् ।  

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।  

लकडाउनमा अपराधजन्य गतिविधि बढ्दो

लकडाउनका बेलामा पनि जिल्लामा अपराधजन्य गतिविधिमा भने कमी आएको छैन । यस समयावधिमा चोरीडकैती सम्बन्धी कसुर अन्तर्गत तीन वटा मुद्दा कार्यालयमा दर्ता भएको जानकारी छ । लागु औषध गाँजा सम्बन्धी १, अभद्र व्यवहार अन्तर्गत ७, हातहतियार खरखजना सम्बन्धी १, ज्यान मार्ने उद्योग १, बालयौन दुरुपयोग १, बहुविवाह १, जबर्जस्ती करणी उद्योग १ मुद्दा कार्यालयमा दर्ता भएका छन् । लकडाउन अवधिमा जिल्ला कुल ५८ वटा अपराधजन्य मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त क्रियाकलापमा संलग्न २४ जनालाई पक्राउ गरिएको र ११ जना फरार रहेको कार्यालयको जानकारी छ ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App