बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ।
गलकोट नगरपालिकाले कोभिड–१९ को रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरे पनि पर्याप्त मात्रमा नभएको केन्द्रका प्रमुख डा अरुण गौतमले बताए। हामीलाई शुरुमा नगरपालिकाले केही सामग्री सहयोग गरेको थियो, तर धेरै सामग्री प्रयोगमा आइसकेको छ, उनले भने, दैनिक २० देखि ५० बिरामी केन्द्रमा आउने भएकाले स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको हो।
कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी सुरक्षित भएर बिरामीको उपचारमा खटिनुपर्नेमा स्वास्थ्य सुरक्षा सामग्रीको अभावले स्वास्थ्यकर्मीलाई समस्यामा पारेको छ। स्वास्थ्य केन्द्रमा पिपिइ, एन–९५ मास्क, सेफ्टी गल्स, डिसइन्फेक्ट क्लोरिन पाउडरलगायतका सामग्री अभाव भएको डा गौतमको भनाइ छ। केन्द्रमा प्राप्त थर्मलगनले राम्रोसँग ज्वरो मापन नगरेकाले प्रयोगमा नल्याइएको डा गौतमको भनाइ छ। एक सरकारी चिकित्सकको भरमा चल्दै आएको केन्द्रमा करारमा चिकित्सक नियुक्ति नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ।
हालसम्म केन्द्रमा उपचारका लागि आएका शङ्कास्पद दुई जनाको आरडिटी परिक्षण गरिएको छ। नगरपालिकाले आवश्यकतानुसार स्वास्थ्य सामग्री प्रदान गरे पनि अन्यत्रबाट स्वास्थ्य सामग्री नआउँदा पर्याप्त नभएको हुनसक्ने गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए। केन्द्रलाई थप स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने तयारीमा नगरपालिका रहेको भण्डारीको भनाइ छ। रासस
प्रकाशित: २ जेष्ठ २०७७ ०४:१३ शुक्रबार





