२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

‘थवाङमा युद्ध पर्यटन’

वीर बहादुर घर्ती अध्यक्ष, थवाङ गाउँपालिका, रोल्पा

थवाङ गाउँपालिकाका प्रमुख पर्यटकीय आकर्षणहरू केके हुन् ?
सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि छानेको सय गन्तव्यमा हाम्रो गाउँपालिकाको जलजला क्षेत्रलाई पनि समावेश गरेको छ। जलजला क्षेत्र प्राकृतिक र धार्मिक हिसाबले महत्वपूर्ण भूमि हो। बर्सेनि वैशाखे पूर्णिमा, जेष्ठ पूर्णिमा र जनै पूर्णिमामा ठूलो मेला लाग्छ। त्यतिबेला त्यहाँका मन्दिरमा भेडा चढाइन्छ। जलजलामा विशाल भामा गुफा पनि छ। सन्तान नहुनेहरू एक रात गुफामा बास बसेमा सन्तान प्राप्त हुने जनविश्वास छ।

थवाङ आफैंमा क्रान्तिकारी गाउँ हो। माओवादी जनयुद्धको उद्गम थलो थवाङमा युद्ध स्मारक र संग्रहालय निर्माण कार्य अघि बढिरहेको छ। आगामी दुई वर्षभित्र निर्माण पूरा भएपछि यी सम्पदा पनि पर्यटकीय आकर्षण बन्ने छन्। त्यसबाहेक जनयुद्धको अध्ययन गर्ने थलोका रूपमा समेत थवाङमा पर्यटक आउने गरेका छन्।  
मगर बाहुल्य गाउँमा संस्कार र संस्कृति जीवित छ। त्यसले पनि पर्यटक आकर्षण गर्न सक्छ। त्यसबाहेक थरीथरीका जडीबुटी र चराचुरुंगी अवलोकन गर्न पाइन्छ।

जनयुद्धको उद्गम थलो हाम्रो थवाङमा युद्ध पर्यटनका साथै सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रचुर संभावना छ। हामी पर्यटनबाट लाभ लिने प्रयासमा छौं।  

माओवादी जनयुद्धसँग सम्बन्धित सम्पदा केके छन् ?
हाम्रो गाउँपालिकामा सिज स्तम्भ छ। माओवादी छापामारहरूले तालिम गरेको स्थल लामुहिखार पनि छ। यसलाई संरक्षण गर्ने हाम्रो योजना छ। राचिवाङमा जन कम्युनको अभ्यास गरिएको थियो। हाल त्यहाँ त्यसको अवशेष हेर्न सकिन्छ। त्यो ठाउँमा ट्रफल खेतीको अनुसन्धान भैरहेको छ।  
होमस्टे पर्यटनको संभावना कत्तिको देखिन्छ ?
थवाङ गाउँपालिकाका अन्य पर्यटकीय ठाउँहरुमा उवाको वज्यू वराजुवाङ मन्दिर र जलाकी जन्तरे हुन् भने मिरुलको जाया, टुटु, भित्रिवन सांस्कृतिक क्षेत्र हुन्। त्यसै गरी होमस्टेको संभावना भएका गाउँहरूमा उवाको थर्पु, गुराँसे, मार्घी खर्क हुन् भने फुन्टिवाङ, खेरवाङ  र लाटावाङमा पनि होमस्टेको संभावना छ।

पर्यटक कत्तिको आउँछन् त ?
धार्मिक र आन्तरिक पर्यटक जलजलामा जाने गरेका छन्। अग्लो भूमि भएकाले एक पटक जलजला (३,५७६ मिटर) जाने भन्ने भावना विकास हुँदै आएको छ। गुरिल्ला पदमार्गमा समेत पर्ने भएकाले कहिलेकाहीँ विदेशी पनि आइपुग्छन्।

थवाङ क्षेत्रमा खानेबस्ने सुविधा कस्तो छ ?  
थवाङमा सामुदायिक होमस्टे सञ्चालनमा छ। जलजलामा होटल तथा लज छैन तर बास बस्ने घरहरू छन्। थवाङ–जलजलाबाट जन्तरे तिलाचन हिरछेडा हुँदै ढोरपाटनसम्म गुरिल्ला पदमार्गमा यात्रा गर्न सकिन्छ। पदमार्गमा होटल सुविधा नभएकाले हालका लागि क्याम्पिङ गर्नु पर्छ।  

पर्यटन प्रवद्र्धनमा गाउँपालिका के गर्दै छ ?
हामी धार्मिक मठ मन्दिर तथा गुफा व्यवस्थापन गर्ने काम गरिरहेका छौं। सांस्कृतिक हिसाबले मगर संस्कृतिका ढिकुरे नाच, छुरे पैसेरु, सिंगारु नाच, नचारु नाच, मयुरपंखे नाच, नाम्क (भूमे) नाच लगायतका संस्कृति प्रवद्र्धनमा सहयोग गर्दैछौं। हामीले कृषि पर्यटन विकास गर्न भौगोलिक व्यवस्था अनुसार ओखर खेतीको पकेट क्षेत्रहरू निर्माण गर्दैछौं। साथै भेडा तथा बाख्रा पालनलाई पनि अगाडि बढाउने योजना  छ। साथैै अन्य बागबानी र कृषि विकासका  कार्यक्रम सञ्चालन गर्दै छौं। शिक्षा र स्वास्थ्यका पूर्वाधार विकास पनि हाम्रो प्राथमिकतामा परेको छ।  

गाउँका प्रमुख समस्या केके हुन् ?
मगर संस्कृति र जीवनशैली जोगाई राख्नु पर्ने चुनौती छ। शहरीकरणको प्रभावले मौलिकता नासिने खतरा बढ्दै गएको छ। भूमिको चक्लाबन्दी नभएकाले व्यावसायिक खेती गर्न समस्या भएको छ। निवार्हमुखी कृषि प्रणालीले गर्दा युवाहरू विदेश पलायन भैरहेका छन्। स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या पनि उत्तिकै छन्।

थवाङ कसरी पुग्न सकिन्छ ?
आजका दिनमा काठमाडौंबाट गाडीमा यात्रा गर्दा रोल्पाको सदरमुकाम लिवाङ पुग्न १२ घन्टा लाग्छ। लिवाङबाट थबाङसम्म ७४ किमी कच्ची सडकमा जीप यात्रा गर्न ७ घन्टा जति लाग्छ। घोराहीबाट थवाङ १३६ किमी सडक पार गर्न ८ घन्टा लाग्छ। नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा शहिद मार्ग बनाउँदै छ, कोइलाबासदेखि घोराही, होलेरी, घर्ती गाउँ, थवाङ हुँदै पूर्व रुकुम भएर डोल्पा जोड्ने सहिद मार्ग बनेको छ। यसको स्तरोन्नति भैरहेको छ। रोल्पाको सुलिचौर हुँदै फुलिवन, थवाङ जोड्ने पहुँचमार्ग स्तरोन्नतिका लागि पनि प्रदेश सरकारसँग हामीले माग गरेका छौं।  

आन्तरिक पर्यटकसँग तपाइँको आग्रह के छ ?
शान्ति र समृद्धिको बाटोमा विकासतिर लम्केको छ हाम्रो गाउँपालिका। थवाङ गाउँ जनयुद्धको केन्द्र हो। आफ्नै खालको मौलिकता बोकेको गाउँ घुम्दा धेरै कुरा सिक्न र बुझ्न पाइन्छ। त्यसैले हाम्रो गाउँपालिकाका अन्य सम्पदा समेत घुम्ने गरी आइदिन सबैसँग आग्रह गर्दछु।

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App