रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आशंकामा नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १८ वटा शव रुपन्देही ल्याइएको छ।
पहिचान हुन नसकेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने उद्देश्यले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा १५ वटा शव राखिएको छ। भीम अस्पतालमा तीन महिलाको शव राखिएको उनले जानकारी दिए।
यसअघि नवलपरासीको गण्डक क्षेत्रमा भेटिएको एक शव आफन्तले पहिचान गरी बुझेर लगेका छन्। गोरखा पालुङटार नगरपालिका–७ का २८ वर्षीय समी कुमालको शव परिवारले पहिचान गरेपछि जिम्मा लगाइएको डीएसपी श्रीवास्तवले बताए।
पश्चिम नवलपरासीस्थित नारायणी नदीबाट पछिल्लो दुई दिनमा ४० वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए।
उनका अनुसार नारायणी नदीले बगाएर ल्याएका शवमध्ये केहीलाई पहिचानका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ। अस्पतालमा ठाउँ अपुग भएपछि बाँकी शव बुटवल र भैरहवा पठाइएको उनले बताए।
‘नारायणी नदीबाट निकालिएका शवको पहिचानका लागि केही शव पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ। त्यहाँ नअटेका शव बुटवल र भैरहवा पठाइएको हो,’ डीएसपी थापाले भने।
यसैगरी नवलपरासी प्रहरीले नवलपुरको त्रिवेणी क्षेत्रबाट समेत पछिल्लो दुई दिनमा थप आठ वटा शव फेला पारेको जनाएको छ। ती शवमध्ये आवश्यक प्रक्रिया पूरा गरी नवलपुर र चितवन पठाइएको डीएसपी थापाले जानकारी दिए।
नारायणी नदीमा ठूलो संख्यामा शव भेटिन थालेपछि प्रहरीले विभिन्न जिल्लाबाट बेपत्ता भएका व्यक्तिका परिवारसँग समन्वय गरी पहिचानको प्रक्रिया अघि बढाइरहेको छ। पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३ २१:०९ शुक्रबार


-600x400.jpg)


