विष्णु नेपाल
अछाम - ‘लाहुरका रोगले धेरै मरिसके। गणना छैन। अझै लाहुरका रोग भएका धेरै छन्। कतिले खुल्छन्, कतिले अझै लुकाएका छन्,’ चौरपाटी गाउँपालिका–४ स्थित थापडाकी अञ्जनी विक (नाम परिवर्तन) ले भनिन्। एचआइभी संक्रमितलाई यहाँ ‘लाहुरका रोग’ भन्ने गर्छन्। ४० वर्षीया उनी आफैं एचआइभी संक्रमित हुन्।
मध्याह्नको गर्मीमा गहुँ झारिरहेकी विकले सुरुआतमा खुलेर बोल्न चाहिनन्। गहुँ राम्रै भएछ ? कति होला ? कति महिनालाई धान्ला ? भन्ने प्र्रश्नमा उनले भनिन्, ‘यस वर्ष बर्सात भइरह्यो, कहिल्यैं नलागेको बाला यसपटक लाग्यो, चार महिना धान्ला कि !’ कम उमेरमा संक्रमित उनले एआरटी सेवा लिइरहेकी छिन्। समय समय सिडी फोर काउन्ट गर्छिन्। एचआइभी संक्रमित भएकालाई रोगसित जुध्नसक्ने प्रतिरोधी क्षमता बढाउने औषधिलाई एआरटी भनिन्छ। संक्रमितले आफ्नो रगतको अवस्था तथा मापन गरिराख्न सिडी फोर काउन्ट आवश्यक तथा अनिवार्य पर्छ।
सरकारले यी दुवै सेवा निःशुल्क प्रदान गर्छ। तर यहाँका संक्रमितको यी सेवामा सहज पहुँच छैन। गाउँनजिक रहेको पायल स्वास्थ्य चौकीले हालसम्म सेवा दिन सकेको छैन। सेवा लिन वयलपाटा अस्पताल तथा चौरमाण्डु प्राथमिक स्वास्थ्य चौकीमा जान विवश छन् संक्रमित। विक गाउँमा एचआइभी संक्रमितका लागि दस वर्षदेखि निरन्तर पैरवी, एआरटी सेवा लिए÷नलिएको, सिडी फोरको अनुगमन तथा जनचेतना काममा निरन्तर जुटिरहेकी छिन्। ‘श्रीमान्बाट म संक्रमित भएँ, श्रीमान्को छातीको संक्रमणबाट (एड्स) मृत्यु भयो। दुई छोरा छन्,। उनीहरु दुवै रोजगारीका लागि विदेसिएका छन्। एक्लै छु। उनीहरु के गर्छन् नभनौं,’ गहभरि आँसु पार्दै उनले भनिन्।
संक्रमितहरु मिलेर यहाँ सञ्चालनमा ल्याएको मिलीजुली समूहमा उनी जिम्मेवारी पदमा छिन्। हरेक महिनाको ११ गते समूहको बैठक बस्छ। रुपैयाँ पाँचबाट बचत संकलन गरी सुरुआत भएको संस्थामा चार लाख जम्मा भइसकेको छ। ‘पहिला पहिला त एचआइभी भनेको के हो थाहा नै भएन। लाहुरेको रोग भन्थे। बिरामी भएर वयलपाटा अस्पताल जान थालेपछि बल्ल थाहा भो,’ उनी भन्छिन्, ‘एचआइभी भो भनेर सुरुमा कोही खुल्न चाहेनन्। खुलेकालाई अपमान हुन थाल्यो। मृत्यु भएकालाई उठाउने पुरुषसमेत यहाँ भएनन्।’
रोजगारीका लागि पुरुष भारत जान्छन्। आफ्नो खेतीपातीले मुस्किलले चार महिना पनि धान्न नपुग्ने भएपछि उनीहरु रोजगारीका लागि अन्यत्र जान विवश छन्। गाउँमा बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन्। चरम खानेपानी संकटले यहाँका बासिन्दालाई पीडामाथि पीडा छ। सीमित खेतीयोग्य जमीन पनि बाँझो देखिन्छ। विकका अनुसार हालसम्म थापडा गाउँमा एचआइभीबाट आठ जनाभन्दा बढीको मृत्यु भएको छ।
गत वर्ष मात्र एचआइभी÷एड्सबाट पति गुमाएकी तीन छोराकी आमा ५५ वर्षीया जमुना विक (नाम परिवर्तन) ले भनिन्, ‘लाहुर रोग कसरी नसर्ने हुन जानकारी पाएनौं। निको नहुने रोग भन्ने कुरा त थाहा पाएको धेरै भएको छैन।’ उहाँका तीनवटै छोरा घर छैनन्। ‘मलाई त रोग भो–भो, सन्तानलाई लाग्न नदिन सरकारको आँखा परे हुन्थ्यो,’ उनले भनिन्। गाउँमा विपन्न समुदायका विक, पार्की कुमाललगायत धामी, कुँवर शाह थरका मानिस बसोबास गर्छन्। अन्यत्र बसाइँसराइले ढोकामा ताला मारेका घर गाउँमा धेरै देख्न सकिन्छ। ‘वरपर कमाइ पाए को जान्छ गाउँ छाडेर ? न खाने अन्न छ, न पिउने पानी छ ? बाँच्न त प¥यो। घर छाडेर अन्यत्र जानुको विकल्प छैन,’ ४३ वर्षीय मानसिंह धामी (नाम परिवर्तन)ले भने।
थापडा गाउँसित जोडिएको अर्काे गाउँ पायल यतिखेर प्रजनन स्वास्थ्यका क्षेत्रमा नमुना बन्दैछ। किशोरकिशोरी तथा नवविवाहित जोडी खुलेर प्रजनन स्वास्थ्यभित्रका विषय सिक्दै र सिकाउँदैछन्। मष्टमाडौं आधारभूत विद्यालय र वैजनाथ माविमा अध्ययनत किशोरकिशोरी तथा गाउँका विवाहित दम्पती अलग अलग समूहमा आबद्ध भई प्रजनन शिक्षा हासिल गरिरहेका छन्। यसले उनीहरुको सशक्तीकरण हुनुका साथै अभिभावकमा समेत परिवर्तन ल्याएको छ। यसका लागि बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र चौरपाटी गउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित रुपान्तरण कार्यक्रमले सहयोग गरिराखेको छ। १३ वर्षीया किशोरी सिर्जना धामीले भनिन्,
‘किशोरी अवस्थामा आउने शारीरिक परिवर्तन, महिनावारी, महिला हिंसा के हो, कुन उमेरमा विवाह, बच्चा जन्माउने उमेरलगायत विषयमा समूहमा छलफल हुन्छ। समूहमा हुने छलफलले आत्मविश्वास बढाउँदो रहेछ।’ कम उमेरमा विवाह गर्ने र घरमा सुत्केरी हुने प्रचलन लगभग यहाँ अन्त्य हुँदै गएको छ। पायल स्वास्थ्य चौकीका अनमी शिला कट्टेलले भनिन्, ‘गत वर्ष सबै गर्भवतीले यही स्वास्थ्य चौकीमा आएर बच्चा जन्माउनुभयो।’ पछिल्लो जनगणनाअनुसार चौरपाटी गाउँपालिका–४ पायलको जनसं्ख्या चार हजार ९९४ छ। स्वास्थ्य संस्थामा ५५ जना सुत्केरी भएका थिए।दम्पती कैलाश कुमाल र देवकुमारी कुमालले भने, ‘व्यवस्थित परिवार योजनाका लागि परिवार नियोजनको आवश्यकता हुन्छ। परिवार नियोजनका पाँचै प्रकारमा अस्थायी साधन (कण्डम, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी) को प्रयोगले फाइदा हुन्छ। कण्डम प्रयोग गर्ने सोचमा छौं।’ पायल गाउँ पूर्ण खोप गाउँ बनेको छ। –रासस
प्रकाशित: ५ जेष्ठ २०७६ ०२:१८ आइतबार





