७ वैशाख २०८१ शुक्रबार
समाज

चन्दननाथ नगरपालिकामा प्लाष्टिक झोला प्रतिबन्ध

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध लगाएको छ। प्लाष्टिक जन्य वस्तुका कारण दिनानुदिन वातावरण प्रदुषित बन्दै गईरहेकोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको हो। अब चन्दननाथ नगरपालिकामा जुट र फेब्रीक झोलाको प्रयोग गरिने भएको छ।

जिल्लाको एक मात्र नगरपालिकालाई प्लाष्टिक मुक्त नगर बनाउने अभिप्रयाले प्लाष्टिक जन्य झोला प्रयोगमा बन्देज लगाइएको नगरपालिकाका प्रवत्ता अर्जुनसिंह कठायतले जानकारी दिए। प्लाष्टिक जन्य पदार्थको नियन्त्रण गरौं, स्वच्छ र हराभरा वातावरण निर्माण गरौं’ भन्ने मान्यताका साथ नगरपालिकाले प्लाष्टिक मुक्त नगर बनाउने अभियान थालेको प्रवत्ता कठायतले बताए। प्लाष्टिक मुक्त नगरका लागि  ६ क्वीन्टल जुट र फेब्रीकको झोला उद्योग वाणिज्य संघलाई प्रदान गरिएको छ। उद्योग वाणिज्य संघले प्रत्येक व्यवसायीलाई त्यो झोला उपलव्ध गराउने छ। व्यवसायीले उपभोक्तालाई सामान बिक्रि गर्दा जुट र फेब्रीक झोला उपलव्ध गराउनु पर्नेछ। उपभोक्ताले हरेक सामान किन्दा त्यो झोलाको प्रयोग गर्नु पर्नेछ। यदि जुट र फेब्रीकको झोला प्रयोगमा नल्याउने व्यवसायी र उपभोक्तालाई कार्वाही हुनेछ।

प्रवत्ता कठायतले भने, ‘अहिले बजारमा प्लाष्टिक जन्य पदार्थको व्यवस्थापन नहँुदा निकै ठुलो समस्या भईरहेको छ। अब निकट भविष्यमै प्लाष्टिक मुक्त नगर बनाउने अभियानमा जुटेका छौँ। त्यसका लागि प्लाष्टिक झोला न्युनिकरण तथा बिस्थापन, जुट र फेब्रीक झोलाको प्रबद्र्धनलाई प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएका छौँ।’

चन्दननाथ नगरपालिकाले जुट र फेब्रीक झोला नियमित रुपमा उत्पादन गर्ने वातावरण बनाउदैछ। उनले भने, ‘अब जुम्ला सदरमुकाम खलंगालमा प्लाष्टिकका झोला पाईने छैनन्। प्लाष्टिक जन्य वस्तुले पार्ने असरका बिषयमा उपभोक्ता र व्यवसायीलाई सचेतनाका कार्यक्रममा समावेश गराउने नीति लिएका छौं।’ चन्दननाथ नगरपालिकाको फोहोर व्यवस्थापन गरेर सुन्दर नगर निर्माण अभियानमा लाग्न नगरबासीलाई आग्रह गरिएको छ।

प्लाष्टिक झोलाको सट्टा जुट र फेब्रीक झोलाको प्रयोग गर्न नगरवासीलाई आह्वान समेत गरेको छ। नगर कार्यपालिकाको बैठकले प्लास्टिकको झोला प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको मेयर कान्तिका सेजुवाल बताउँछिन्। उनले भनिन्, ‘नगरपालिका क्षेत्रमा प्रयोग हुने प्लाष्टिक झोलाको विश्लेषण गर्दा यहाँको वातावरण प्रदुषण हुनुको पछाडी प्लाष्टिक जन्य पदार्थ नै देखिएको ले नगर क्षेत्रका सबै बजारमा प्लाष्टिक झोला प्रतिबन्ध गर्न बाध्य भयौँ।’ प्लास्टिकजन्य वस्तुको प्रयोग अत्यधिक बढेको र जसका कारणले फोहोर बढाएको तथा खेतीयोग्य जमिनमा मिसिएर उत्पादनमा असर गर्न थालेपछि रोक लगाउनु परेको मेयर सेजुवालले बताइन्। ‘प्लास्टिक नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमासमेत असर पार्ने भएकाले रोक लगाउने निर्णय  ग-यौं’ मेयर सेजुवालले भनिन, ‘चन्दननाथ नगरपालिकाले प्लाष्टिक झोलाको विकल्प दिईसकेकोले अब समस्या आउने छैन्। प्लाष्टिक मुक्त नगर बनाउने अभियानको एउटा बलियो आधार बनेको प्लाष्टिक झोलाको प्रतिबन्ध भएकोमा जोड दिईन्।

जुट र फेब्रीक झोलाले प्लास्टिकले झैँ असर नगर्ने जानकारहरु बताउँछन्।   ‘चन्दननाथ नगरपालिकाले जुट र फेब्रीक झोला उपलव्ध गराईसकेको छ’ मेयर सेजुवालले भनिन्, आवश्यक परेको खण्डमा व्यापारी आफैंले झोला बनाएर प्रयोगमा ल्याउन सक्ने छन्।’ प्लास्टिकमुक्त नगर कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आईराखेको छ। जुट र फेब्रीक झोलामा चन्दननाथ नगरपालिकाको लोगो र प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियानको नारा उल्लेख गरिएको छ।  प्लाष्टिक मुक्त नगर निर्माणका लागि स्थानीय प्रहरी प्रशासन, नागरिक समाज, राजनैतिक दल सबैले एक्यबद्धता जाहेर गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७६ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App