१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

कर्णाली राजमार्गअन्तर्गतको रतीखोलामा पुल नहुँदा भेलमै गाडी पार गराउँदै चालक। गोविन्द/नागरिक

सुर्खेत - कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गमगढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ।

दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न प्रदेश राजधानीबाट हिँडेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली पाँच दिन लगाएर गमगढी पुग्यो। ‘नाग्म (कालीकोट–जुम्ला सिमाना) सम्म चारवटा गाडी परिवर्तन गर्दै तीन दिनमा पुग्यौं, त्यहाँबाट दुई दिन पैदल हिँड्नुप¥यो’, मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘फर्कंदा झन् बढी समय लाग्यो।’

वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ। राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ।

नाग्मदेखि गमगढीसम्मको सडक सञ्चालन भएको चार वर्ष भयो। सडकको स्तरोन्नति नहुँदा असारदेखि भदौसम्म तीन महिना ९४ किलोमिटर सडकमा यातायातका साधन चल्दैनन्। नाग्म–गमगढी खण्डको कोइरेली, बड्की, बिष्टवाडा, रोकायवाडा, गोठीज्यूलालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध छ।

सुर्खेत–जुम्ला सडक सञ्चालन भएको एक दशक पुग्यो । ठाउँठाउँमा सडक भत्केका छन्। पहिरोको समस्या उस्तै छ। सामान्यतया जुम्ला–सुर्खेतको दुरी आठदेखि १२ घन्टासम्मको हो। अचेल यही सडकमा यात्रा गर्न तीनदेखि चार दिन लाग्छ।

‘साँघुरा सडक, ठाउँठाउँमा झरेको पहिरोले गर्दा जुम्लादेखि सुर्खेत पुग्न दुईतीन दिन लाग्छ,’ तातोपानी गाउँपालिका–६ धौलापानीका खड्क खड्काले भने, ‘पहिले हिँडेरै तीन दिन लाग्थ्यो, आजभोलि गाडीमा जाँदा पनि त्यति नै समय लाग्छ।’ सडकको स्तरोन्नति र सरकारी निकायले समयमै आएको पहिरो नपन्छाउँदा यात्रु सास्ती खेप्दै आएका छन्।

सिँजा गाउँपालिका–३ फार्यवाडाका धनजित बुढा कर्णाली राजमार्गमा यात्रा गर्दा पहिरो पन्छाउने औजार बोकेर हिँड्नुपर्ने बताउँछन्। ‘अघिल्लो महिना सुर्खेत जाँदा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डमा पहिरो आयो,’ बुढाले भने, ‘गाउँबाट औजार ल्याएर चार घन्टापछि पहिरो पन्छायौं।’

कर्णाली राजमार्गको कालीकोट खण्ड अन्यन्तै जोखिमयुक्त छ। सुनारखोला, पिली, खल्लागाडलगायतका ठाउँमा दिनहुँ झर्ने पहिरोले यात्रु समस्यामा पर्ने गरेका छन्। यो खण्डमा गाडी वारपार गराउन डोजरको सहायता लिनुपर्छ। पातारासी गाउँपालिका जुम्लाका लालचन्द्र महतारा व्यवस्था फेरिए पनि राज्यले कर्णालीप्रति हेर्ने नजर नफेरिँदा कहिले ‘मृत्युमार्ग’ त कहिले ‘डोजरमार्ग’ का रूपमा चिनिएको बताए। ‘एक त कर्णाली सडक निकै साँघुरो छ, त्यसमाथि वर्षात्को हिलो र पानीले हैरानी खेप्नुपर्छ’, उनले भने, ‘कर्णाली राजमार्ग मृत्युमार्गको उपमाभन्दा माथि उठ्न सकेको छैन ।’ राजमार्गको कालोपत्रे अधिकांश ठाउँमा उप्किएको छ।

कर्णाली राजमार्ग तत्काल स्तरोन्नति गरेर चौबिसै घन्टा यातायातका साधन चलाउने बनाउन कर्णालीका स्थानीयले सरकारसँग माग गरेका छन्। अचेल जुम्ला, कालीकोटलगायतका जिल्लाबाट तराईमा स्याउ ओसार्ने समय हो। नियमित सडक सञ्चालन नहुँदा किसान र व्यवसायी समस्यामा परेका छन् । सडक नियमित सञ्चालन नहुँदा जुम्लादेखि अन्यत्र निर्यात हुने स्याउ बाटोमै कुहिन थालेको स्थानीय प्रेमबहादुर बस्नेतले बताए। ‘एकै दिनमा नेपालगन्जसम्म स्याउ पु-याउन सकिँदैन,’ बस्नेतले भने, ‘चारपाँच दिन बाटोमै रोकिनुपर्दा स्याउ कुहिएर नष्ट हुने गरेको छ।’

कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक कामदार राखिएका छन् । ‘सामान्य मर्मतबाहेकका काम हामीले गर्न सक्दैनौं’, एक कामदारले भने, ‘एकै ठाउँमा चार–पाँच घन्टासम्म यात्रु जाममा पर्ने गरेका छन्।’

जीर्ण सडकसँगै कर्णाली राजमार्गअन्तर्गतका अधुरा पुलले पनि यात्रुलाई सास्ती दिँदै आएको छ। अधुरा पुल र बीचबीचमा आउने पहिरोले यात्रु घन्टौं जाममा बस्नुपर्छ। पहिरो डोजर लगाएर पन्छाए पनि पुल नहुँदा खोलामा आउने बाढीले यात्रु झन् समस्यामा पर्ने गरेका छन्।

२०७२ सालमा सक्नुपर्ने कर्णाली राजमार्गअन्तर्गतको जाक्सी खोलाको पुल अहिलेसम्म बनेको छैन। पुलको ठेक्का सिरुवा कवीर सुनकोसी कन्ट्रक्सन जेभीले दुई करोड ३७ लाख ४५ हजार ८ सय ९८ रुपैयाँमा लिएको थियो। वर्षात्मा खोलामा पानी बढेसँगै यहाँ घन्टौ यात्रु रोकिनुपर्छ। राजमार्गको बीचबीचमा सडक विभागले डोजरको व्यवस्थापन गर्नुपर्ने राकमका स्थानीय नैनबहादुर शाहीले बताए।

तल्लो डुंगेश्वर (कर्णाली राजमार्ग) देखि सियाकोटबीचको रतीखोलाले दैनिकजसो यात्रु समस्यामा पर्छन्। यहाँ न होटल छन् त बस्नका लागि घर नै। रतीखोलामा पुल नबन्दा बर्सेनि कर्णाली जाने यात्रुले दुःख पाइरहेका छन्। राजमार्गको दैलेख खण्डमा पर्ने दहीखोला, दरबारभीर, रतिखोलामा दैनिक पहिलो जाने गरेको छ। यस्तै दैलेख–सुर्खेतअन्तर्गत जिरो प्वाइट नजिक र घोडाबासमा नियमतिजसो जाने पहिरोले पनि यात्रु समस्यामा छन्।

(नगेन्द्र उपाध्याय/सुर्खेत, गोविन्द केसी/दैलेख र डिबी बुढा/जुम्ला)

प्रकाशित: २४ भाद्र २०७५ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App