सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजी तीव्र बनाइएको छ। पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेका सविनको खोजीमा आफन्त, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।
डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको वडाध्यक्ष देवेन्द्र राईले बताए। पौडी खेल्ने क्रममा सविन बेपत्ता भएको खबर पाएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले खोजी जारी राखे पनि हालसम्म फेला पार्न नसकेको उनले जनाए।
सविन बेपत्ता भएको घटनास्थलमा इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले बताए। सविनको खोजीमा डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारी खोजी गरिरहेको छ।
जिल्ला सुरक्षा समितिका अनुसार, सविनको खोजी र उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालित छ। धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताए। दुवैजना सुनकोशी किनारको बाटो हुँदै तुइम्बुस्थित बाँदरेखोपमा पौडी खेल्न कोशीमा पसेको वडाध्यक्ष राईले बताए।
तीन दिनसम्म पनि सविन फेला नपरेपछि गोताखोर झिकाएर खोजी तीव्र बनाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताए। ‘धामी लिन भनेर हिँडेका छोरा तीन दिनसम्म पनि घर नफर्कँदा परिवार भावविह्वल भएको छ। उनीहरू आफ्नो छोरा जीवित नफर्किए पनि लाश देख्न चाहन्छन्,’ उनले भने, ‘जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले हालसम्म सविनलाई फेला पार्न सकेको छैन। गोताखोर टोली झिकाएर खोजी तीव्र बनाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन्।’
सशस्त्र प्रहरीको गोताखोर टोली बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताए। ‘जिल्लाबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अहिले पनि घटनास्थलमा छन्। अहिलेसम्म केही पत्ता लागेको छैन,’ उनले भने, ‘सविनको खोजीका लागि गोताखोर झिकाउने विषयमा छलफल भइरहेको छ। जिल्लाबाट परिचालित टोलीले फेला नपारे भोलि सुरक्षा समितिको बैठक बसेर गोताखोर झिकाउने तयारीमा छौँ।’
बेपत्ता सविन च्यास्मिटार माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेको प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले बताए। रासस
प्रकाशित: १२ जेष्ठ २०८२ १४:०८ सोमबार





