मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गलेश्वरको धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार राति करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६, लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए।
‘तत्कालै घाइतेको उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो, अचेत अवस्थामा रहेको घाइतेलाई चिकित्सकले मृत घोषित गरे,’ प्रहरी निरीक्षक पौडेलले भे। पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा शव राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।
बालिकाको मृत्यु भएपछि यात्रामा आएकाहरू शोकमा डुबेका छन्। यात्राका क्रममा यात्रुले झ्यालबाट टाउको बाहिर निकालेर हेर्दा दुर्घटना हुने गरेको छ। विगतमा समेत पर्यटकीय स्थलमा जाने क्रममा झ्यालबाट टाउको निकाल्ने, फोटो खिच्ने क्रममा पर्यटक घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीले निजी तथा सार्वजनिक यातायातको साधनमा आवतजावत गर्दा सुरक्षा सावधानी अपनाउन समेत अनुरोध गरेको छ।
प्रकाशित: ३० चैत्र २०८१ ०९:३३ शनिबार





