१६ चैत्र २०८१ शनिबार
image/svg+xml ८:१२ पूर्वाह्न
समाज

घरघरमा सेप्टिक ट्यांक अनिवार्य गरिँदै

सहरी विकास मन्त्रालयले उपत्यकाका नदीखोला सफा राख्न ढलको सट्टा सबै घरमा अनिवार्य सेप्टिक ट्यांक राख्नुपर्ने नीति लागु गर्ने भएको छ। यसका लागि मन्त्रालयले सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरिरहेको छ। यसैगरी मन्त्रालयले जमिनमुनि पानी सतह घट्दै गएकाले वर्षायाममा घरको छतमा पर्ने पानीलाई जमिनमुनि पठाई पुनर्भरण गर्नुपर्ने व्यवस्थासमेत मिलाउन लागेको छ। 

मन्त्रालय स्रोतका अनुसार ढलको सट्टा घरघरमा सेप्टिक ट्यांक राख्न तथा वर्षायामको पानी जमिनमुनि पठाउन उपत्यकावासीलाई प्रेरित गर्ने योजना बनाउन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको विशेष चासो रहेको छ। मन्त्री सिंहले सार्वजनिक रूपमा पटकपटक उपत्यकाका नदीखोला सफा राख्न तथा ढलमुक्त बनाउन घरघरमा अनिवार्य सेप्टिक ट्यांक राख्नुपर्ने र वर्षायाममा छानोमा पर्ने पानी सकेसम्म सडकमा बग्न नदिई जमिनमुनि पठाउनुपर्ने भन्दै आएका छन्। 

उपत्यकामा ढलको पानी नदीखोलामा नमिसाउने, घरघरमा सेप्टिक ट्यांक  बनाउने र वर्षायाममा घरको छानोमा पर्ने पानी सडकमा जान नदिई जमिनमुनि पठाउने गरिएमा नदीखोला सफा राख्न सकिने तथा जमिनमुनि सुक्दै गएको पानीको सतहलाई पहिलेकै अवस्थामा ल्याउन सकिने मन्त्रालयका अधिकारीहरूको बुझाइ छ। 

यसै विषयमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंहले उपत्यकाभित्रका सबै नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग केही दिनअघि छलफल गरेका थिए। यस्तै छलफल फेरि अर्को चरणमा गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद मैनालीले बताए। ‘सम्भवतः बुधबार फेरि यस्तो छलफल हुनेछ’, उनले भने।

उपत्यकाका नगर प्रमुखहरूसँगको छलफलमा सिंहले भनेका थिए, ‘अहिले बागमती, विष्णुमती ढल विसर्जन स्थलका रूपमा प्रयोग भइरहेका छन्। यसलाई रोक्न घरघरमा सेप्टिक ट्यांक बनाउन अनिवार्य गरौं, नभए उपत्यकाका नदीखोला झनै प्रदूषित हुनेछन्।’ अबदेखि नयाँ घर बनाउँदा अनिवार्य सेप्टिक टयांक बनाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले भनेका थिए, ‘बनिसकेका घरको हकमा सेप्टिक ट्यांकी बनाउन पर्याप्त ठाउँ छैन भने एउटै समुदायभित्र रहेका घरधनीले एउटै सेप्टिक टयांक बनाउन सक्नेछन्।’ 

उपत्यकाभित्र जमिनमुनिको पानी सतह घट्दै गएकाले पुनर्भरणको नीति अनिवार्य गर्नुपर्नेमा मन्त्री सिंहले जोड दिएका थिए। वर्षायाममा घरको छतमा परेको पानीलाई पाइपमार्फत जमिनमुनि पठाउने गरिएमा घट्दै गएको पानीको सतहलाई उकास्न सकिने मन्त्रालयका कर्मचारीको भनाइ छ। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नयाँ घर बनाउन नक्सा पासको अनुमति दिने अधिकार स्थानीय सरकारलाई छ। नक्सा पास  गर्दा सेप्टिक ट्यांक अनिवार्य बनाउनुपर्ने व्यवस्था ऐनमै छ। तर काठमाडौंलगायत सहरी क्षेत्रमा ढलको सुविधा भएकाले अधिकांश घरधनीले आफ्नो घरमा सेप्टिक ट्यांक बनाएका छैनन्। 

सेप्टिक ट्यांकी बनाउनुको सट्टा नजिकैको नदीखोलामा सिधै ढल मिसाउने गरिएको छ। यसबाट नदीखोला निकै दुर्गन्धित हुने गरेको वातावरणविद्हरूको भनाइ छ। ढल नमिसाउने हो भने उपत्यकाका नदीखोला सफा हुने छन्। ‘खासगरी उपत्यकाका नदीखोला सफा राख्न मन्त्रीको विशेष चासो सुरुदेखि नै रहँदै आएको छ’, मन्त्रालयका एक उच्च कर्मचारीले भने। मन्त्रालयले ललितपुरको भैंसेपाटीमा बनाएको नयाँ मन्त्री निवासमा ढलको सट्टा प्रशोधित सेप्टिक ट्यांक राखिएको छ। प्रशोधित सेप्टिक ट्यांक राखे वर्षौंवर्ष त्यसले काम गर्ने इन्जिनियरहरूको भनाइ छ।

प्रकाशित: १३ चैत्र २०८१ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App