१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

उखुबाट चिनी उत्पादन अनुपात घट्यो, कारण खोजिंदै

गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादनको अनुपात कम भएको गौशाला–१ मा रहेको एभरेष्ट चिनी उद्योगले जनाएको छ।  

उद्योगका अनुसार यो आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ। गत वर्ष यही परिमाणको उखुबाट ९.११ केजी चिनी बनेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए।  

यो वर्ष उद्योगले लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको छ। गत मङ्सिर २६ देखि फागुन मसान्तसम्म चलेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी बनाएको शुक्लाले बताए। गत वर्ष २९ लाख चार हजार ५१२ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो।  

उखु क्रसिङ र चिनी उत्पादनको परिमाण बढी देखिए पनि चिनी उत्पादनको अनुपात घटेको उद्योगले जनाएको छ। यो वर्ष अनुपात किन घट्यो भन्ने कारण खोजी भइरहेको शुक्लाले बताए।  

किसानको बुझाइमा हिउँदमा पानी नपर्नु र गत बर्खामा पनि वर्षा अनुकूल नहुनुले उत्पादन अनुपातमा असर गरेको हुन सक्छ। बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले यस्तो अनुमान गरे।  

उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गरेर तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर उखु अभावले चैतसम्म चल्ने क्रसिङ फागुन मसान्तमै रोकिएको शुक्लाले बताए। किसानले उखुको उचित मूल्य नपाउँदा उत्पादन नबढेको उनको भनाइ छ। रासस

प्रकाशित: १६ चैत्र २०८१ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App