२० चैत्र २०८१ बुधबार
image/svg+xml १०:४ पूर्वाह्न
राजनीति

अन्न भित्र्याउन छाडेर गणतन्त्र जोगाउन राजधानीमा

सिरहाबाट काठमाडौं आएका रामवली पासवानलगायत। तस्बिर: उपेन्द्र/नागरिक

यतिबेला तराईमा रबी बाली भित्र्याउने चटारो छ। खेसरी, मुसुरो र रहर भित्र्याउन किसानलाई भ्याइनभ्याई छ। तर सिरहा कर्जन्हा–६ का रामवली पासवान भने रहर दाल भित्र्याउनेभन्दा पनि गणतन्त्र जोगाउन भनेर काठमाडौं आएका छन्।

‘गणतन्त्रमा कसैको आँखा लागेको थाहा पाएपछि पाकेको अन्न भित्र्याउने र नयाँ बाली लगाउने बेलामा हामी काठमाडौं आएका छौं,’ शुक्रबार प्रदर्शनीमार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभामा भेटिएका पासवानले भने, ‘गणतन्त्र जोगाएर मात्र फर्कनेछौं।’

गणतन्त्रले समाजमा छुवाछुत तथा अन्य विभेद मेटाएको उनको अनुभव छ। जातपातको विभेदमा कमी आएको र गाउँघरको सामन्ती प्रथा अन्त्य हुँदै गएको उनले राम्ररी बुझेका छन्। ‘अन्न बिग्रिए एक साल नोक्सान हुन्छ’, उनले भने, ‘गणतन्त्र मासिए युगको उपलब्धि नै नोक्सान हुन्छ।’

उतिबेला राजतन्त्रविरुद्धको आन्दोलनमा समेत सहभागी भएका ६१ वर्षीय पासवानले गणतन्त्र आएपछि धेरै कुरामा परिवर्तन आएको सुनाए। ‘हो, केही कमीकमजोरी भएका छन्, तिनलाई नेताले सच्याउनु पर्छ,’ उनले भने, ‘गणतन्त्र मास्ने कुरा कदापि सह्य हुँदैन।’

 पासवानको कुरामा सहमत छन् श्रीराम यादव पनि। आन्दोलनमा सहभागी हुन बिहीबार राति मधेसबाट राजधानीतर्फ हानिएका उनी शुक्रबारको खबरदारी सभामा अनिदो अवस्थामा भेटिए। ‘हामी चिउरा र प्याज बोकेर आएका हौं,’ उनले भने, ‘हामीलाई गणतन्त्र जोगाउनु छ।’

कसैको निगाहले नभएर जनआन्दोलनले प्राप्त भएको गणतन्त्र जोगाउन पनि जनता जाग्नुपर्ने उनले बताए।

गणतन्त्रको विरोधमा तराईमा पनि झिनो आवाज उठ्न थालेको सुनाउँदै उनले राजधानीमा अलि चर्को आवाज उठेको थाहा पाएपछि खबरदारी सभामा सहभागिता जनाउन आएको बाराकी सुमित्रा धानुकले बताइन्। ‘हामी बाली भित्र्याउन छाडेर आएका हौं,’ उनले भनिन्, ‘यहाँबाट फर्केर अन्न भित्र्याउने छौं।’

पछिल्लो परिवर्तनका कारण नै मुलुक संघीयतामा गएको र त्यसले ग्रामीण क्षेत्रको विकासमा योगदान दिएको धेरैको बुझाइ छ। यस्तो अवस्थामा फेरि गणतन्त्र मासेर पुरानो बाटो हिँडाउने कार्य उनीहरूलाई मन परेको छैन। ‘गोरुगाडा नहिँड्ने बाटोमा अहिले मोटर चल्न थालेका छन्,’ धनुषाको धनौजीका प्रह्लाद ठाकुरले भने, ‘छोरीहरूले गाउँकै कलेज पढ्न पाएका छन्।’

गणतन्त्र मासेर हामी फेरि पुरानो युगमा फर्कन नचाहने उनले बताइन्। ‘अब अगाडि बढ्ने हो,’ उनी भन्छिन्, ‘पछाडि फर्कने कुरै छैन।’

प्रकाशित: १६ चैत्र २०८१ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App