बगाईघाट बजारको सुरक्षा व्यवस्थापन प्रविधिमैत्री तरिकाले सुदृढ र मजबुत बनाउने उद्देश्यले विभिन्न ठाउँमा थप क्लोज सर्किट टेलिभिजन क्यामेरा (सिसिटिभी) जडान गरिने भएको छ।
सदरमुकाम र व्यस्त बजार भएकाले बढ्दो सुरक्षा चुनौतीको दीगो र प्रभावकारी व्यवस्थापन गर्न गाईघाटमा सञ्चालित ६ वटा बैंकहरू र त्रियुगा नगरपालिकाको सहयोगमा थप सिसिटिभी जडान हुन लागेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बजारका विभिन्न नयाँ ठाउँमा जडान गर्नका लागि थप १४ थान सिसिटिभी प्राप्त भएको छ।
सोमबार आयोजित एक कार्यक्रममा बैंक र नगर प्रतिनिधिले संयुक्त रूपमा जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीलाई सिसिटिभी हस्तान्तरण गरे। गाईघाटमा सञ्चालित बैंकहरू राष्ट्रिय वाणिज्य बैंक शाखा, कृषि विकास, सानिमा, ग्लोबल आईएमई, लक्ष्मी सनराईज र सद्धार्थ बैंकका शाखा प्रबन्धक तथा नगरउपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा एकमुष्ट १४ थान सिसिटिभि एसपी योगीलाई हस्तान्तरण गरेका हुन्।
ती सिसिटिभी जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने गरी आवश्यक ठाउँमा जडान गरिने एसपी योगीले बताए। यसअघि जडान नभएको तर, सुरक्षा संवेदनसिल स्थानहरूमा जडान गर्ने गरी नयाँ ठाउँ छनौट गर्ने काम भईरहेको योगीले बताएका छन्। एसपी योगीले सुरक्षा व्यवस्थापनका लागि साझा दायित्व सम्झेर संवेदनशील भई सहयोग गरेकोमा धन्यवाद दिए। उनले समाज र बजारको सुरक्षामा नागरिक तहबाट यस्तै सहयोगको अपेक्षा गरेको पनि बताए।
पछिल्लो समय गाईघाट बजारको जनघनत्व बढ्दै गएको छ। सदरमुकाम हुनुको अलावा मदन भण्डारी लोकमार्ग मध्य बजार छिचोलेर निर्माण भएका कारण पनि बजारमा सुरक्षा संवेदनसिलता बढ्दै गएको हो। त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको सहयोगमा आधादशकअघि नै बजारका केही ठाउँमा भने सिसिटिभी जडान गरिसकिएको छ। ती सबै सिसिटिभीको अवलोकन र नियन्त्रण जिल्ला प्रहरीकै जिम्मामा रहेको छ।
पहिलेका सिसिटिभी मुख्यमुख्य ठाउँ र बैंक तथा वित्तीय सँस्थाहरूको सुरक्षा व्यवस्थालाई लक्षित गर्दै जडान गरिएका छन्। त्यत्तिले मात्र सुरक्षा व्यवस्थापन गर्न पर्याप्त नभएकाले बेलाबेलामा हुने चोरी चकारी र आपराधिक घटना खुट्याउन प्रहरीलाई हम्मे पर्दै आएको छ। यही खाँचो टार्न नगरपालिका र बैंकहरूले थप सिसिटिभी सहयोग गरेको नगर उपप्रमुख महेश्वरी राईले बताइन्। नयाँ सिसिटिभीको निगरानी गर्ने जिम्मा पनि जिल्ला प्रहरीलाई नै दिइएको पनि उपमेयर राईले बताइन्।
प्रकाशित: ९ पुस २०८१ १२:०६ मंगलबार





