६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

पाँच महिनामा १२ गैँडा मृत अवस्थामा भेटिए

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृत अवस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत अवस्थामा भेटिएका मध्ये चार भाले र पाँच पोथी रहेका छन्। तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो। मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए।

यस्तै सोही अवधिमा एउटा बाघ मृत अवस्थामा भेटिएको छ। गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी छ वर्षको बाघ मरेको उनले जानकारी दिए।

यसैगरी पाँच महिनाको अवधिमा गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको उनले बताए।

निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा एक सय ५० जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको जनाएको छ। गैँडा मारेर खाग तस्करी गरेको आरोप, बाघसम्बन्धी कसुर, अनुमतिबिना बँदेल पाल्ने, बिनाअनुमति निकुञ्जमा घाँस दाउरा काट्ने, माछा मार्ने, निउरो टिप्नेलगायत काममा सहभागी भएका उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए। रासस

प्रकाशित: ६ पुस २०८१ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App