४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पहाडबाट मधेस हुँदै भारततर्फ गाँजा तस्करी

गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।

सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना३ख ७५९१ नम्बरको ट्रकले बा८च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कारमा तयारी गाँजाका पाँचवटा पोका भेटिएको सिरहा प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। प्रहरीका अनुसार कारबाट एक क्विन्टल ३० किलोग्राम गाँजा बरामद भएको थियो। कार प्रहरीको नियन्त्रणमा भए पनि चालक फरार छन्।

स्थानीयका अनुसार दुर्घटनालगत्तै कारबाट गाँजा झिकी ई–रिक्सामा राखेर चालक भाग्न खोजेका थिए। चालकले कारको नम्बर प्लेट पनि झिकेका थिए। स्थानीयले रोकेपछि कारचालक गाँजा छाडेर भागेका थिए। सो गाँजाका विषयमा अनुसन्धान भइरहेको जानकारी प्रहरी उपरीक्षक पण्डितले दिए।

धनगढीमाई नगरपालिकाको उत्तरवर्ती सर्रेअम्बास क्षेत्रबाट जिरोमाइल–बरियारपट्टी हुँदै भारततर्फ गाँजा तस्करी हुँदै आएको स्थानीय बताउँछन्। जिरोमाइल चोकमा प्रहरीको उपस्थिति भइरहन्छ। गाँजा कारमा लोड भएको स्थान धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकट्टी क्षेत्रमा पर्छ। प्रहरी बरोबर उपस्थित भइरहने क्षेत्रबाट तयारी गाँजा कारमा राखेर भारततर्फ लैजाँदा पनि प्रहरीले पत्तो नपाउनुले यसमा मिलेमतो प्रष्ट भएको स्थानीय बताउँछन्। दुर्घटनापछि प्रहरीकै अगाडिबाट ती कारचालक फरार भएको स्थानीयको आरोप छ। दुर्घटना भएपछि मात्र उक्त कारमा तस्करीको गाँजा रहेको खुलेको हो।

गत महिना बारा प्रहरीले १७० किलो गाँजा बरामद गर्‍यो। प्रहरीले गाँजा कारोबारमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउसमेत गर्‍यो। कोल्हवी नगरपालिका–५ सोनाभार गाउँबाट भारततर्फ तस्करी गर्न दिनदयाल चौधरीको घरमा लुकाएर राखिएको २१ पोका गाँजासहित प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीया मनमतीदेवी र ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको थियो।

यस्तै सप्तरीबाट बालुवा र गिटीसँगै गाँजा भारततर्फ तस्करी भइरहेको खुलेको छ। सप्तरी प्रहरीले बालुवा बोकेको ट्रकबाट १७ क्विन्टल गाँजा नियन्त्रणमा लिएपछि तस्करी नयाँ तरिका खुलेको हो। बालुवामुनि गाँजा राखेर भारततर्फ लैजान थालेको सूचनाका आधारमा प्रहरीले ट्रक जाँच गर्दा १७ क्विन्टल गाँजा फेला परेको हो। 

पहाडी जिल्लाबाट गाँजा ल्याएर सप्तरीमा भण्डारण गर्ने र बालुवा, गिटीभित्र लुकाएर भारततर्फ तस्करी गर्नु नियमित घटना हुन्। सप्तरीबाट गाँजाको तस्करी व्यापक मात्रामा हुँदै आए पनि एकैपटक १७ क्विन्टल बरामद भएको यो पहिलो पटक हो।  

बारा प्रहरीले केही दिनअघि गाँजा बोकेको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। हेटौंडाबाट पथलैयातर्फ आइरहेको प्र३–०१००३ क६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। गाँजासँगै प्रहरीले मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका–१ चकरीका २० वर्षीय सुभास लामालाई नियन्त्रणमा लिएको थियो।

यसअघि भदौ ५ गते हावा भरिएको ट्युबमा २४० किलो गाँजा कोसी नदी हुँदै भारततर्फ लैजान लागिएको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। भदौ ४ गते प्रहरीले वीरगन्ज महानगरपालिका–२१ बाट डब्लुबी ११ई ९०३३ नम्बरको तेल ट्यांकरबाट १७२ किलो तयारी गाँजा बरामद गरेको थियो। ४६ वटा पोकामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजासहित ट्यांकर चालक भारत उत्तर प्रदेश गाजीपुरका ३९ वर्षीय लालबिहारी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  

प्रहरीले साउन ३१ गते पनि लहान नगरपालिका–१ मा को१च ७५७७ नम्बरको एम्बुलेन्सबाट ९० किलो तयारी गाँजा बरामद गरेको थियो। पाँचवटा बोरामा उक्त परिमाणको गाँजा राखिएको थियो। गाँजासहित प्रहरीले एम्बुलेन्स चालक धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिएको थियो।  

उक्त एम्बुलेन्स गाँजा लिएर लहान हुँदै भारत जाँदै थियो। यसअघि साउन १ गते रौतहटको राजपुर नगरपालिका–६ कुटियामा पार्किङ गरी राखिएको डिएल–४ सिएनबी नम्बरको स्कार्पियो जिपबाट सशस्त्र प्रहरीले १९२ किलो गाँजा बरामद गरेको थियो।

पहाडी जिल्लाबाट ल्याइएको गाँजा सप्तरीको हनुमान्नगर कंकालिनी नगरपालिका क्षेत्रबाट डुंगामा कोसी नदी हुँदै भारततिर तस्करी हुँदै आएको छ। कोसी ब्यारेजबाट डुंगामा राखेर पनि भारततर्फ गाँजा तस्करी हुने गरेको छ। सप्तरी आउने गाँजाको मुख्य स्रोत उदयपुर रहेको जानकार बताउँछन्। कहिलेकाहीँ सशस्त्र प्रहरी र नेपाल प्रहरीले गाँजा बरामद गरे पनि मुख्य कारोबारी भने पक्राउ परेको पाइँदैन। ‘पहाडी जिल्लाबाट गाँजा ल्याएर सिरहाको बरियारपट्टी, ठाढी, नर्गी, जानकीनगरलगायत र सप्तरीको बेल्ही, कोसीको बाटो हुँदै भारत पुर्‍याउने गरिएको छ,’ एक जानकारले बताए। सिरहादेखि पर्सासम्मका नाकाबाट भारतफर्त तस्करी हुने गाँजाको स्रोत पहाडी जिल्ला मकवानपुर र धादिङ रहेको बताइन्छ।  

स्रोतका अनुसार नेपालमा प्रतिकिलो दुई हजारदेखि चार हजार रुपैयाँ पर्ने गाँजा भारतमा २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। कम लगानीमा बढी आम्दानी हुने भएकाले गाँजा कारोबारीको सञ्जाल व्यापक हुँदै गएको छ। मुख्य कारोबारीहरू भारतर्फ नै बस्ने भएकाले भरिया मात्र पक्राउ पर्ने प्रहरी अधिकारी बताउँछन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को असोजसम्म दुई हजार २२५ किलो गाँजा बरामद भएको छ। असोजपछिको अवधिमा पनि पटकपटक गाँजा बरामद भएको छ। 

प्रकाशित: ४ पुस २०८१ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App