२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस विभाजनबारे ओलीको चिन्ता: महाधिवेशन कसले बोलाउँछ थिति होला नि?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनबारे चिन्ता व्यक्त गरेका छन्। शुक्रवार एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले लोकतन्त्र कमजोर भएका बेला कांग्रेस फुट्नु चिन्ताको विषय भएको बताएका हुन्। 

‘नेपाली कांग्रेस विभाजनमा पुग्नु नेपालको लोकतन्त्रका लागि निकै दुखद कुरा हो,’ ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरू जानी बुझीकन किन यसो गरिरहेका छन्? म आश्चर्यमा परेको छु। किन गरिरहेका छन्? हामी चिन्तित छौँ।’ यस्तो बेलामा अनावश्यक झमेलामा फसेको आफूलाई चित्त नबुझेको उनले बताए। 

यस्तै निर्वाचन आयोगले पनि सबै थोक जानेको दाबी गर्दै ढिलाइ गरेकामा ओलीले असन्तुष्टि जनाए।  ‘अहिले पनि यति स्पष्ट, छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिराख्या छ,’ उनले भने। 

कांग्रेसले विशेष महाधिवेशन भनेर गरेको कार्यक्रममाथि पनि उनले प्रश्न उठाए। ‘विशेष महाधिवेशन किन भनिँदै छ? नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको छ? चार पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो,’ उनले भने, ‘बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि त?’ बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि भनेर उनले प्रश्न गरे। 

‘कसैले सडकमा बहुमत पु¥याएँ भनेर भनेका भरमा हुन्छ?’ अध्यक्ष ओलीले भने।

लोकतन्त्रलाई कुन अराजकतातर्फ लैजान खोजिँदै छ भन्ने कुराको प्रमाण यो पनि एक रहेको उनले बताए। ‘त्यस कारण न्याय निरूपण गर्ने संस्थाहरू लोकतान्त्रिक संस्था हुन्। कानुन कार्यान्वयन गर्ने संस्था हुन्। त्यस कारण म भनिरहेको छु,’ ओलीले भने। 

प्रकाशित: २ माघ २०८२ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App