प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र टोटनह्याम भिड्दै छन्। ओल्ड ट्राफर्डमा शनिबार नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुने खेलमा युनाइटेड लगातार चौथो जित हासिल गर्ने योजनामा छ।
अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। उनको जिम्मेवारीपछि म्यानचेस्टर सिटीमाथि २-०, आर्सनलमाथि ३-२ र फुलह्याममाथि ३-२ को जित निकालेको थियो। यसले टोलीलाई ४१ अंकसहित तालिकाको चौथो स्थानमा पुर्याएको छ। अब शीर्ष चारमा बलियो स्थिति बनाउन यो जित महत्त्वपूर्ण छ।
टोटनह्याम २९ अंकसहित १४औँ स्थानमा छ। पछिल्ला ६ लिग खेलमा जितविहीन छ। तर पछिल्ला चार खेलमा अपराजित छ। गत आइतबार म्यानचेस्टर सिटीसँग २-२ को बराबरीमा दुई गोलले पछि परेर फर्किएको थियो। घरेलु मैदानमा कमजोर भए पनि राम्रो खेलेको छ।
ऐतिहासिक रूपमा युनाइटेडले पछिल्ला आठ खेलमा टोटनह्यामलाई हराउन सकेको छैन। क्यारिकले टोटनह्यामका स्ट्राइकर डोमिनिक सोलान्केलाई प्रमुख खतरा बताएका छन्।
उता, टोटनह्याममा जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की, मोहम्मद कुडुस जस्ता मुख्य खेलाडी चोटका कारण बाहिर छन्। यसले उनीहरूलाई ठुलो समस्यामा पारेको छ।
युनाइटेडको फर्म उच्च छ भने टोटनह्याम जितविहीन सिलसिला तोड्न आतुर छन्। यो खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। एजेन्सी
प्रकाशित: २४ माघ २०८२ ११:४९ शनिबार





