९ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिक र प्रहरी मिले जोगिन्छ ‘शान्ति’!

नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने नारा ल्याएको धेरै भयो। त्यो कति प्रभावकारी भयो या भएन, लेखाजोखा पछि गरौँला। तर हालै सामाजिक सञ्जालमा भाइरल एक भिडियोले भने प्रहरी र नागरिक मिले शान्ति जोगिन्छ भन्ने कथनलाई सार्थकता दिएको छ। तारमा अड्किएको शान्तिको प्रतीक परेवालाई निकाल्न सर्वसाधारणलाई काँधमा राख्ने प्रहरी जवानको अहिले चौतर्फी तारिफ भएको छ।

 घटनाअनुसार मंसिर २४ गते पाँचथरको फिदिम बजार क्षेत्रमा तारमा अल्झिरहेको परेवा निकाल्न गरिएको प्रयासले धेरैको मन छोएको छ। तारमा तुन्द्रुङ्ङ झुन्डिरहेको परेवालाई जिपमाथि चढेर जब चालकले निकाल्न सक्दैनन्। त्यो हेरिरहेका प्रहरीका एक जवान गाडीमाथि चढेर चालकलाई आफ्नो काँधमा राख्छन्। चालकले होसियारीका साथ परेवा निकालेर सर्वसाधारणको हातमा दिन्छन्। उनीहरूले खुट्टामा रहेको डोरी निकालेर उडाउँछन्।  

ती जवान हुन्, उदयपुर त्रियुगा नगरपालिकाका गणेश फुयाँल। पाँच वर्षदेखि नेपाल प्रहरीमा कार्यरत उनी हाल पाँचथरमा खटिएका छन्। ‘ड्युटीमा खटिरहँदा झुन्डिरहेको परेवाले ध्यान खिच्यो,’ प्रहरी जवान फुयाँल भन्छन्, ‘त्यसपछि गाडीमाथि चढेर जोगाउने प्रयास गरेँ ।’ पहिला तल बसेर निकाल्ने कोसिस गरे पनि परेवा जोखिममा पर्ने डरले त्यो रुटमा चलिरहेको जिपलाई रोकेर त्यसमाथि चढी परेवाको उद्धार गरिएको उनले बताए।  

सुरुमा बसका चालक आफ्नो काँधमा बस्न अन्कनाएको अनि आफूले बस्न अनुरोध गरेपछि मानेको उनले सुनाए। ‘हामी नागरिकका सहयोगी हौं, उनीहरूको काँधमा बस्ने कुरै भएन,’ उनले भने, ‘नागरिकलाई आफ्नो काँध दिएर परेवा उद्धार गर्न पाएकोमा निकै खुसी लाग्यो।’ उनको यो खबरले उनी मात्र होइन, हेर्ने सबै खुसी भएका छन्। उनको परिवारदेखि सामाजिक सञ्जाल सबैतिर उनको तारिफ भएको छ।  

नेपाल प्रहरीले सामाजिक सञ्जालमा उक्त भिडियो हालेर पोस्ट गरेको छ। त्यसले लाखौं भ्यूज र एक दशौं हजार लाइक पाएको छ। ‘प्यारो श्रीमान्!’ सामाजिक सञ्जालमा उनकी पत्नी सोनिया भट्टराईले लेखेकी छन्, ‘तिमीप्रति गर्व छ।’ त्यस्तै अन्य सर्वसाधारणले पनि उनको तारिफ गर्दै विभिन्न प्रतिक्रिया लेखेका छन्। ‘नागरिक र प्रहरी मिले शान्ति जोगिन्छ भन्ने यो गतिलो उदाहरण हो,’ महेश पोखरेल लेख्छन्, ‘यसरी नै मिलेर मुलुकमा साँच्चिकै शान्ति राख्न सकिन्छ।’

कतिपयले परेवाको अवस्थालाई नेपाली जनताको वर्तमान अवस्थासँग तुलना गरेका छन्। विभिन्न समस्याले अल्झिरहेका नेपालीको परेवाजस्तै उद्धार हुनुपर्ने उनीहरूको सुझाव छ। ‘हाम्रो अवस्था पनि भ्रष्ट नेताहरूको जालमा झुन्डिरहेको परेवाको जस्तै भएको छ,’ दिवाकर अर्याल लेख्छन्, ‘यसबाट कसले उद्धार गर्ने होलारु’ कतिपयले उनले गरेको काम निकै राम्रो भएको र यसबापत उनलाई पुरस्कृत गर्नुपर्ने धारणा राखेका छन्। 

‘उनले एउटा पक्षीको जीवन जोगाउन उदाहरणीय काम गरेका छन्,’ ‘विनोद आचार्य लेख्छन्, ‘नेपाल प्रहरीले उनलाई पुरस्कृत गर्नुपर्छ।’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले प्रहरी जवानको उक्त कार्यबाट सिंगो संगठन खुसी भएको प्रतिक्रिया दिए। ‘उनको कामबारे हामी निकै सकारात्मक छौं,’ उनले भने, ‘उनका बारेमा उचित सम्बोधन हुनेछ।’

प्रकाशित: ३ पुस २०८१ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App