१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घरमै बसेर नगरको कृषि सेवा लिन सकिने

कृषिप्रधान देशमा सबैभन्दा बढी ‘हेपिएको’ क्षेत्र नै कृषि हो भनेर सर्वत्र चर्चा र गुनासो सुनिन्छ। नभन्दै, भएको छ पनि त्यस्तै। कृषि विकासलाई न पर्याप्त बजेट छ, न किसानलाई हौसला, प्राविधिक ज्ञान, सीप, मल, बीउ, मूल्य, बजार र अत्यावश्यक उपकरण नै।

तर, इलामको सूर्याेदय नगरपालिकाले भने किसानका चौतर्फी अभाव सम्बोधन गर्न नयाँ र बेग्लै जुक्ति लगाएको छ। जसले, सूर्याेदयका मात्र होइन, उपभोग गर्नसक्ने संसारभरका सबैलाई कृषि र पशुपंक्षीसम्बन्धी ज्ञान दिनेछ। र, किसान वा उपभोक्ताले घरमै बसीबसी यो सेवा लिन सक्नेछन्।

नगरले कृषि–पशुपालनका समस्या, उपाय, सम्भावना र अवस्था समेटिएको वेबसाइट नै निर्माण गरेको हो। किसानलाई ‘डिजिटल कृषि सेवा’ दिन नगरले वेबसाइट सञ्चालनमा ल्याएको हो। यसमा कुन बाली कहिले लगाउने, कुन हावापानीमा कस्तो बाली लगाउने, रोगकीराको अवस्था, उपचारलगायत सबैजसो विषय समेटिएको छ।

मेयर रणबहादुर राईले अब किसानले घरमै बसीबसी नगरबाट कृषिसेवा लिनसक्ने बताए। ‘किसानले प्राविधिक सेवा नपाउनु हाम्रो मात्र होइन, देशभरकै ठूलो समस्याका रूपमा छ,’ उनले भने, ‘हामीले सकेसम्म भौतिक रूपमै सेवा दिन खोजेपनि पर्याप्त हुन सकेको छैन, अब डिजिटल सेवाले धेरै सघाउनेछ।’

वेबसाइटमा कृषि प्रविधि, कृषि मौसम सल्लाह बुलेटिन, बारम्बार सोधिने प्रश्नहरू, रासायनिक मल विक्री–वितरण व्यवस्थापनप्रणाली, गुनासो, सुझाव, सूचना र विभिन्न प्रकासन समेटिएका छन्। नगरले बनाएका कृषिसम्बन्धी कानुनसमेत यसमा राखिएका छन्। र, कृषिसँग सम्बन्धित निकायका स्रोत सामग्रीको लिंकसमेत यसैमा भेटिनेछ।

किसानले यो साइटमा खाद्यबाली, तरकारी खेती, फलफूल खेती, मसाला बाली, नगदेबाली, तेलहनबाली, दलहन र पशुपंक्षीबारे प्राविधिक ज्ञान लिन सक्नेछन्। यी बालीसम्बन्धी किसानले बारम्बार राख्नेगरेका सयौं जिज्ञासाको जबाफ पनि यसमा समेटिएको छ।

नगरले अब किसानले बैंक कारोबार वा कुनै पनि संघ, प्रदेश र स्थानीय सरकारको अनुदानका लागि प्रस्तावना बनाउने सेवासमेत निःशुल्क दिने बताए। ‘विभिन्न स्रोतबाट पाउने अनुदान लिन पनि किसानले प्रस्ताव बनाउनै निकै सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘अब नगरले किसानलाई यस्तो अनुदानको प्रस्तावना निःशुल्क तयार गरिदिनेछ।’

उनले नगरले आधारभूत पशुपंक्षी प्रयोगशालासमेत सुरु गरेको बताए। अब नगरकै प्रयोगशालामा पशुपंक्षीको धेरैखाले नमुना जाँच गर्न सकिने उनको भनाइ छ। 

प्रकाशित: २६ भाद्र २०८१ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App