१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

आज अवधि समुदायले गुडिया पर्व मनाउँदै

आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व। पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन्। यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ। आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँदछन्।

गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन्। यसलाई गोबर चक्र भनिन्छ। सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ। यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ। योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ।

यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ। यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो। यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ। घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामथ्र्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिए।

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ। गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ। युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ। साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधी अगुवा पण्डित शिवप्रसाद पाठकले बताए। उनका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ।

यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ। यो पर्व समुदायमा आदिकालबाट चलिआएको अगुवा पाठकले बताए। उनले भने, “सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वनजङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता समान मानिन्छ। सबै देव रूपमा रहेका छन्। यसलाई समयसमयमा पूजा गर्नुपर्छ।”

जादुगर (मदारी) ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ। स्वास्थ्यको हिसाबले वर्षात्को मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ। त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा छ। अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गी पैदा होत है।’

गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ। भगवान् कृष्णले नागलाई नाथेका थिए। उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो। सर्प शत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ। सर्पलाई दूध र चना खुवाउने गरिन्छ। परापूर्वकालबाट गुडिया र होलीपर्व एकै दिन ९बार० मा पर्ने गर्दछन्। यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने पर्वका रूपमा लिइएको छ।  -रासस

प्रकाशित: २५ श्रावण २०८१ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App