४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा छ वर्षमा चितुवाले लियो १४ बालबालिकाको ज्यान

सांकेतिक तस्बिर।

पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो।

घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले डेढ वर्षपछि बन्दीपुरमा पुनः चितुवा आक्रमण भएकाले स्थानीयवासी त्रसित बनेको बताए । उनले भन्नुभयो, ‘पछिल्लो समय चितुवा आतङ्क थिएन, डेढ वर्षपछि पुनःआक्रमण भएर बच्चाको मृत्यु भयो । स्थानीयवासी त्रसित छन् ।’ साँझ र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराइएको थापाको भनाइ छ ।

डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

यसैगरी विसं २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका–१२ छिर्कनेमा पाँच वर्षीय अरविन कुँवरको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको सहायक वन अधिकृत पण्डितको भनाइ छ । चितुवाको आक्रमणबाट मृत्यु भएका प्रत्येकका परिवारलाई  १० लाख राहत उपलब्ध गराउने प्रावधान रहेको छ ।  

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न उनले आग्रह गरे । 

प्रकाशित: १८ श्रावण २०८१ १९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App