२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

टिकट काउन्टरमै लागुऔषध सेवन : सात कर्मचारी रंगेहात पक्राउ

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन्।

त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौं चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उनले जानकारी दिए। 

लागुपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो। निजहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागुपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: २२ पुस २०८२ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App