२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

४५ वर्षमा पनि खगिसराले नागरिकता पाइनन्

४५ वर्ष सम्म नागरिकता नपाएकी कालिकोटकी खगिसरा कार्की । तस्बिर ललित विष्ट /नागरिक

उमेरले करिब ४५ वर्ष नागेकी खगिसरा कार्कीले अहिले पनि नेपाली नागरिक भएको अनुभूति लिन सकेकी छैनन् । सानै उमेरमा शुकशालीका गाउँपालिकाका कलमबहादुर कार्कीसंग विवाह गरेकी उनीसँग न जन्म दर्ता नै छ, न,त नागरिकता।

सुस्त मनस्थिति भएकी उनले कलिलै उमेरमा उस्तै श्रीमान् पाइन्। घरमा ५ वटा बालबच्चा छन्।श्रीमान् कलमबहादुर कार्कीको भने एक वर्ष पहिले मृत्यु भइसक्यो । कलमको नागरिकता छ,तर खगिसराको नागरिकता नहुँदा विवाह दर्ता हुन सकेन । जस कारण उनी अहिले सम्म नागरिकता विहीन छन्।

अहिले आफू अनागरिक सरह बाँच्नुपरेको खगिसरा बताउँछिन् । ‘श्रीमानको नागरिकता र बालबच्चाको जन्म दर्ता छ,आफ्नो जन्म दर्ता पनि छैन्, नागरिकता बनाउन वर्षौँदेखि धेरै प्रयास ग¥यौं। न नागरिकता बन्यो न अन्य कुनै प्रमाण छ।’, उनले भनिन् । जन्म दर्ता तथा नागरिकता पाउन धेरै वर्षदेखि सङ्घर्ष गरिरहे ।  वडादेखि पालिकासम्म पटक–पटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको गुनासो छ । 

कार्की दम्पतीका सन्तान  आर्थिक अभावले उच्च शिक्षाबाट वञ्चित भएका छन्। तिन छोरी मध्य एक छोरीको विवाह भइसकेको छ। उनीहरूले पनि नागरिकता बनाउन सकेका छैनन्। छोराहरू दुवै सानै उमेरका छन् ।

‘मेरो नागरिकता नहुँदा पालिकाबाट पाउने कुनै पनि सेवा सुविधा पाउन उस्तै समस्या छ’, कार्कीले भनिन्, ‘यतिका वर्ष अनागरिक छु । सरकार ! अब नागरिकता माग्न कहाँ जाऊँ ?’ 

नागरिकता दिलाइदिन स्थानीय सरकार र नेताहरूसमक्ष हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ । छरछिमेकका सन्तान उच्च शिक्षा पढ्न जाँदा आफ्नाले पढ्न नपाउँदाको पीडाले सताउने गरेको उनको भनाइ छ। ‘नागरिकता नहुँदा रोजगारीसमेत कसैले दिँदैन। परिवारको छाक टार्न हम्मे हम्मे परिरहेको छ’, उनले भनिन्।

शुभकालीका गाउँपालिका—५वडा अध्यक्ष मिमबहादुर शाहीले खगिसराको जन्म घर कहाँ हो ? भनेर नखुलेको सुनाए । उनका बाबुआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको शाहीको भनाइ छ।

यो परिवारलाई नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको उनले सुनाए। ‘जिल्ला प्रशासन कार्यालयबाट पनि श्रमजीवी मुचुल्का मागेकाले उनलाई नागरिकता दिलाउन प्रयास गरेको छौ ।’, उनले भने ।

स्थानीय देवीराम आचार्यका अनुसार यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले खगिसरालाई नागरिकता दिनुपर्ने बताए । उनले आफूले पटक–पटक कागज जाँच लगेर जिल्ला प्रशासन पुगेको सुनाए ।

उनी कुन ठाउँको हुन भन्ने बारे कुनै पनि जानकारी नभएको कारण अहिले तत्काल नागरिकता दिन नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।  उनले भने ‘खगिसराको कुनै प्रमाण भेटिएको छैन्। हामीलाई पनि समस्या भयो उनले भने । ’

सानै उमेरमा विवाह

खगिसराले सानै उमेरमा कालिकोटको शुभकालीका गाउँपालिका— ५ का कलमबहादुर कार्कीसंग विवाह गरिन्। विवाह गरेपछि उनले घरपरिवारको नाम निसान भुलिसकेको बताउँछिन् ।

सुस्त मनस्थितिकी उनलाई गाउँलेले पनि उस्तै सुस्त मनस्थितिका कलमसँग विवाह गराए । ‘अलि ठुलो भएपछि सबै भुले । श्रीमानले साथ छोडेर जानु भयो । खगिसराले भनिन्, ‘जाने ठाउँ कहीँ नभएपछि मैले कहाँ जानु ।’ सानै उमेमा विवाह गरेर लामो समय सँगै बसेका श्रीमानको रोगका कारण मृत्यु भयो ।’

उनीहरु विवाह गरेर जाँदा नागरिकता तथा जन्म दर्ता कुनै थिएन । पछि उनको श्रीमानको भने नागरिकता बन्यो, तर उनको कुनै प्रमाण छैन् । 

प्रकाशित: ११ श्रावण २०८१ २०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App