२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

स्रोत नखुलेको रकम बरामद गर्दा सुरक्षाकर्मीमाथि नै आक्रमण

आक्रमणबाट घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्का ।

नेपालगन्ज–४ स्थित कलपत्रु होटलमा सञ्चालित एसएन ब्लु गेमिङ क्लब (क्यासिनो) को स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्ने क्रममा राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथि आक्रमण भएको छ।

नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै उक्त घटना भएको हो। सूचक खड्काले क्यासिनोमा स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गरेका थिए। उक्त रकमलाई सूचक खड्काबाट खोसेर क्लबका महाप्रबन्धक अर्जुन खनालको समूहले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ।

आक्रमणबाट खड्का घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। खड्कामाथि खनालको समूहले बोतल र फलामको कुर्सी प्रहार गरेको बताइएको छ।

आक्रमणमा संलग्न महाप्रबन्धक खनाललाई सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले नुवाकोट घर भई नेपालगन्जस्थित क्यासिनो सञ्चालन गर्ने अर्जुन खनाललाई पक्राउ गरिएको बताए।

‘खनालसहितको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बुझिएको छ, आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने।

बरामद गरिएको रकमबारे भने एसपी कार्कीले अनविज्ञता प्रकट गरेका छन्। घटनामा अन्य ४-५ जनाको संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ।

नेपालगन्जका क्यासिनोले स्रोत नखुलेको रकमलाई वैधानिकता दिने गरेको बताइन्छ। स्रोत नखुलेको रकमलाई वैधानिकता दिन क्यासिनोमा आर्थिक चलखेल हुने गरेको स्रोतले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८१ १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App