२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

अपहरण र हत्या आरोपी नै लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त

बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोपी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका छन्। बादशाह कुर्मीलाई एकल महिलाको अपहरण र बेपत्ता पारेको आरोप नटुङ्ग्याई प्रदेश मन्त्री बनाइएको छ। हुनतः विवाद भएकै बेला उनलाई सांसद बनाइएको थियो।

नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्‌मा बादशाह नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन्। उनलाई बाँकेको नेपालगन्ज–१७ की निर्मलादेवी कुर्मीको अपहरण र हत्या आरोप लागेको छ।

अधिकारकर्मी रुबी खानको नेतृत्वमा भएको पछिल्लो आन्दोलनपछि सरकारले २०८१ असार १० गते तीन बुँदे सहमति गरेको थियो। कुर्मीका श्रीमान्‌‌काे २०६२ मा मृत्यु भएको थियो।

श्रीमानको मृत्युको चार वर्षपछि २०६६ मंसिरमा निर्मलादेवीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय रूपमा मृत्यु भएको थियो।

श्रीमान् र छोराको मृत्युपछि निर्मलादेवी एकल महिलाको रूपमा बस्दै आएकी थिइन्। यही क्रममा घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएकै बेला उनी पनि बेपत्ता भएकी थिइन।

०७५ मा निर्मलादेवी बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरूको नाममा सारिएको थियो। उनी पनि बेपत्ता भएपछि २०७८ असोजमा नेपालगन्जदेखि काठमाडौंसम्म अधिकारकर्मीहरूले न्यायका लागि पैदल यात्रा गरेका थिए।

२०६२ सालमा श्रीमानको मृत्यु भएपछि २०६६ कात्तिक अन्तिम साता १५ दिनको अन्तरालमा दुई छोराको मृत्यु भएको थियो। उनीहरुको मृत्यु नभई हत्या भएको आरोप थियो। तर त्यसको विषयमा प्रहरीले पुष्टि गर्न सकेको छैन।

बाँकेको जानकी गाउँपालिका परस्पुरकी निर्मलादेवीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको विषय गृह मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा पनि उल्लेख छ। तर शक्तिको आँडमा उनीविरुद्ध अहिलेसम्म आरो पत्र दायर हुन सकेको छैन।

एकल महिलाको सम्पत्तिका लागि नेपाली कांग्रेसको तर्फबाट नियुक्ति भएका कुर्मीको निर्देशनमा २०७५ सालमा उक्त घटना भएको आरोप रहेको छ। बेपत्ता निर्मलादेवी अहिलेसम्म फेला परेकी छैनन्।

अपहरण तथा हत्या भएको आरोपमा बादशाहले निर्देशन दिने र अन्य व्यक्तिहरूले उनकै निर्देशनमा घटना गराएको हुनसक्ने आधारहरू देखिएकोले थप अनुसन्धान गरि फौजदारी मुद्दाको अभियोजन गर्न सकिने गृह मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

‘विधवा तथा एकल महिला निर्मला कुर्मीलाई बेपत्ता पार्ने कार्यमा बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाको संलग्नता देखिन्छ,’ गृहको प्रतिवेदनमा भनिएको छ, ‘एकल महिला कुर्मीलाई कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगेको देखिन्छ।’

गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका बादशाह एक हुन्। तर उनीविरुद्ध प्रहरीले अहिलेसम्म अनुसन्धान गरेको छैन।

उनी तत्कालीन समयमा पनि जनप्रतिनिधि रहेकै कारण पनि निर्मलाको अपहरण हत्या विषयमा अनुसन्धान हुन सकेको थिएन। दुई छोराको मृत्यु हुँदा पोष्टमार्टम गर्न उनै बादशाहले नदिएको बताइएको छ। उनी त्यतिबेला संविधान सभा सदस्य रहेका थिए।

प्रकाशित: ९ श्रावण २०८१ २१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App