२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनीमा सर्पको टोकाइबाट २३ जनाको मृत्यु

सर्पदंशको टोकाइबाट लुम्बिनीमा गत वर्षको असारदेखि अहिलेसम्म २३ जनाको मृत्यु भएको छ भने तीन सय २६ जना घाइते भएका छन्। लुम्बिनीको सबैभन्दा बढी दाङ सर्पदंशको बिगबिगीबाट प्रभावित देखिएको छ।

गत आर्थिक वर्षमा दाङमा मात्रै ११ जनाको मृत्यु भएको छ। एक सय ७९ जना घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए। साउन यता मात्र लुम्बिनीमा तीन जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। नवलपरासी, रुपन्देही र दाङमा एक÷एक जनाको मृत्यु भएको छ।

नवलपरासी, प्युठान र कपिलवस्तुमा एक÷एक र दाङमा ११ जना घाइते भएका छन्।

गत आर्थिक वर्षमा लुम्बिनीका नवलपरासीमा तीन, कपिलवस्तु पाँच, दाङ ११ र बर्दिया एक जनाको मृत्यु भएको छ। नवलपरासीमा ९, रुपन्देहीमा ४, कपिलवस्तुमा १६, दाङमा एक सय ७९, बाँकेमा चार, बर्दियामा २३, पाल्पामा ६३, गुल्मीमा सात, अर्घाखाँचीमा १२, रुकुम पूर्वमा आठ जना सर्पको टोकाइबाट घाइते भएका छन्। प्युठान र रोल्पामा भने सर्पदंशको टोकाइबाट बिरामी परेकाको रेकर्ड नभएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

तथ्यांकअनुसार पहाडी जिल्लाभन्दा तराईका जिल्लामा सर्पदंशका बिरामी बढी देखिएका छन्। घाँस काट्दा गएका बेला, शौच गर्न जङ्गलमा जाँदा, घरमा सुतिरहेका बेला झुल लगायतका सुरक्षा विधि नअपनाउँदा सर्पको टोकाइ हुने गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता श्रेष्ठले जनाए।

‘सावधानी अपनाउँदा यसबाट बच्न सकिन्छ,’ उनले भने, ‘अन्य समयभन्दा वर्षाको समयमा अझ बढी सर्पको बिगबिगी हुने भएकाले यो समयमा अझ बढी चनाखो हुन जरुरी छ।’ सर्पले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गर्नुको साटो घरेलु उपचार विधि र झारफुक गर्नाले पनि कतिपयको मृत्यु उपचार नपाएर हुने गरेको छ।

घरेलु विधिअनुसार उपचार गर्ने र निको नभएपछि अन्तिम अवस्थामा बिरामीलाई अस्पताल पु¥याउँदा उनीहरूको मृत्यु हुने गरेको अस्पतालहरूले जनाएको छन्। यसको एउटा उदाहरण हुन, दाङ तुल्सीपुर–१९ का ५५ वर्षीय पारु चौधरी। घर नजिकैको बारीमा घाँस काट्न गएका उनलाई सर्पले डस्यो। यो खबर असार १२ गतेको हो। सर्पको टोकाइबाट घाइते भएका उनलाई अस्पताल लिनुको साटो झारफुक गरियो। दिउँसो घाइते भएका उनको अवस्था गम्भीर भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइयो। त्यति बेला बेलुकी भइसकेको थियो। बिरामीलाई अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भयो। उनलाई झारफुकभन्दा समयमै अस्पताल पु¥याएर उपचार गरेको भए केही सम्भावना हुने चिकित्सकहरूले बताएका छन्।

विषालु सर्पले टोक्दा बिरामीलाई पट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले जनाए। विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुने भन्दै उनले भने, ‘रुखमा पाइने हरियो सर्पले टोक्दा रक्त श्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने हुन्छ।’

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दामाथि रक्तसञ्चार बिस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजाने गर्नुपर्ने उनले बताए। नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपर। तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु भएको पाइन्छ। त्यस्तै करेत सर्पले विशेष गरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइने विज्ञ बताउँछन्।

सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिने चिकित्सकहरू बताउँछन्। टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ। आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ। भाइपर सर्पको दाँत सानो हुने भएकाले त्यसले टोकेको ठाउँमा दुईवटा दाँतको डाम नदेखिन पनि सक्छ। टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ।

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ। यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पु¥याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ। यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

अहिले लुम्बिनीका अस्पतालहरुमा सर्पदंशको उपचार कठिन छैन। कतिपय स्थानमा त सर्पदंश उपचार कक्ष नै बनाएर बिरामीको उपचार हुँदै आएको छ।

प्रकाशित: ९ श्रावण २०८१ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App