२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

वैलैमा वर्षा,समयमै रोपाँईले धान उत्पादन बढ्ने आशा

सदरमुकाम गाईघाट नजिकै भुल्केमा सरिसकेको धान रोपो । तस्विरः महेश्वर/नागरिक

समयमै वर्षा सुरु भएकाले यो वर्ष उदयपुरका किसानलाई बेलैमा रोपाँई गर्ने अवसर जुरेपछि धान उत्पादन बढ्ने आशा पलाएको छ । विगत वर्षहरूजस्तो खडेरी नलागी समयमै पानी पर्दा रोपाँई पनि बेलैमा गर्न पाएपछि किसानलाई उत्पादन बढ्ने आसा पलाएको हो ।

असार पहिलो सातादेखि साउन दोस्रो साताभित्र गरिसक्नुपर्ने रोपाँई यो वर्ष समयमै सकिन लागेको छ । विगत वर्षहरूजस्तो समयमा पानी नपर्दा ढिला रोपाँई गर्ने समस्या यसपालि किसानले भोग्न परेको छैन । वर्षा समयमा नहुँदा भदौ अन्तिमसम्म रोपाँई गर्नुपर्ने बाध्यता किसानले यस वर्ष खेप्नु नपरेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । समयमै वर्षा भएकाले रोपाँई पनि बेलैमा सुरु भएकाले किसानलाई सहज भयो ।

यो वर्ष समयमै वर्षा हुँदा बेलैमा रोपाँई थालेर लगभग अन्तिम अवस्थामा पुगेको ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवले बताए । विगत वर्षहरूजस्तो यो वर्ष खडेरी नलागी वैशाख सुरुदेखि नै वर्षा हुँदा आकाशे पानीको भरमा खेती गर्ने किसान पनि लाभान्वित भएको यादवले बताए । यो वर्ष वैशाखयता निरन्तरजस्तो पानी परिरहेको छ । सातामा २÷३ दिन बिराएर वर्षा भइरहेकाले सिँचाई सुविधा नपुगेको खेतमा पनि रोपाँई गर्न सहज भएको छ ।

वर्षा पर्याप्त भएपछि सिँचाई पुगेको खेतमा कुलोबाट पानी पटाउन र सिँचाई सुविधा नभई आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पनि रोपाँई गर्न यसपालि कुनै दुःख छैन । समयमै पानी पर्दा जेठ अन्तिमदेखि नै रोपाँई सुरु भएर असार १५ गते मनाइने ‘धान दिवस’सम्ममा १५ प्रतिशत रोपाँई भइसकेको ज्ञान केन्द्रका प्रमुख यादव बताउँछन् । त्यसयता पनि लगातार रोपाँई भइरहेको र साउन पहिलो सातासम्म ७९ प्रतिशत भइसकेको तथ्याङ्क यादवले दिए ।

‘यो वर्ष पहिलाजस्तो वर्षा नहुने समस्या छैन, त्यसैले बेलैमा किसानले रोपाँई सुरु गर्न भ्याए’ प्रमुख  यादवले भने ‘असार १५ गतेभित्रै १५ प्रतिशत रोपाँई भइसकेको थियो । अहिलेसम्म ७९ प्रतिशत रोपाँई सकिसकेको छ । विगतजस्तो खडेरी नपरेकाले यो वर्ष किसान खुसी छन् ।’

ज्ञान केन्द्रका अनुसार सदरमुकाम त्रियुगालगायत जिल्लाका सबै स्थानीय तहमा रोपाँई गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको छ । ‘अन्न भण्डार’ भनेर चिनिने समथर भूभाग समेटिएको त्रियुगा, कटारी, बेलका र चौदण्डी गढी नगरपालिकाका विभिन्न वडाको खेतहरू रोपाँई सरेर हरियो भइसकेको छ । त्यस्तै पहाडी गाउँपालिकाहरू उदयपुरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङका बेँसी र खोँचजस्ता खोला खोल्सीका खेतहरू पनि रोपाँई जागेर रोपो गोड्ने बेला भइसकेको छ ।

ज्ञान केन्द्रकी बाली विकास अधिकृत अनु बिसीका अनुसार उदयपुरमा बेलैमा सुरु भएकाले रोपाँई सक्ने चरणमा पुगिसकेको छ । बढीमा साउन अन्तिमसम्ममा सबैतिर रोपाँई सकिसक्ने बिसी बताउँछिन् । सुरुसुरुको रोपो त सरेर धान गोड्ने बेला भइसकेको उनको भनाई छ । असार अन्तिमतिरको रोपाँई पनि हरियो भइसकेको छ भने कतैकतै छिटपुट मात्र रोपाँई गर्न बाँकी रहेको अधिकृत बिसीले बताईन् ।

ज्ञान केन्द्रकी कृषि विकास अधिकृत फुलमाया शेर्पाका अनुसार उदयपुरमा १४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाउने गरिएको छ । जसमध्ये त्रियुगा, बेलका, कटारी र चौदण्डी गढी नगरपालिकामा धान खेतीको हिस्सा धेरै छ । पहाडी भेगमा भने भिरालो जमिन हुने हुँदा खोला खोल्सी र बेँसी खोँचतिर मात्र धान खेती लगाउने गरिएको छ । तराई र समथर भूभागमा सिँचाई सुविधा नभए पनि आकाशे पानीकै भरमा धान बाली उब्जाउन सकिने भए पनि पहाडी भेगमा भने सिँचाई कुलो अनिवार्य हुन्छ । समथरमा जस्तो पहाडमा कुलो मुहान नभएको ठाउँमा धान उत्पादन गर्न नसकिने शेर्पा बताउँछिन् ।

वर्षेनी ६० देखि ८० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको उदयपुरमा आउँदो वर्ष उब्जनी बढ्ने अनुमान ज्ञान केन्द्रले गरेको छ। बेलैमा पानी परेकाले समयमै रोपाँई गर्न पाएका कारण आउँदो वर्ष धानको फसल बढ्ने अनुमान गर्न सकिने शेर्पा बताउँछिन्। ‘पोहोर परारजस्तो खडेरी लागेन, त्यसैले यस वर्ष बेलैमा रोपाँई गर्न पाइयो’ अधिकृत शेर्पाले भनिन् ‘त्यसैले कुनै रोग व्याधि लागेन भने आउँदो वर्ष धान उत्पादन कम्तीमा १०÷२० प्रतिशत बढ्ने आसा पलाएको छ ।’ 

प्रकाशित: ९ श्रावण २०८१ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App