२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याले मधेस अशान्त, अनेक कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ

सर्लाहीका लोकप्रिय नेताका रुपमा चिनिएका रामचन्द्र रायको हत्या भएको छ। सोमवार बिहान करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरका ८० वर्षीय रायको धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले हत्या गरेको हो।

लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आस्थावान रहेका राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए।

२०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा पनि राज्यमन्त्री भएका थिए।

अहिले पनि सक्रिय राजनीति र समाजसेवामा रहेका राय गत महाधिवेशनमा राप्रपाको उपाध्यक्षको उम्मेदवार थिए। मलंगवा र रतनपुरमा आलोपालो बस्दै आएका राय आफ्नो क्षेत्रका निकै लोकप्रिय व्यक्ति हुन्। धानखेती गराउन गाउँ गएका रायलाई अज्ञात समूहले हत्या गरेपछि राजनीतिकर्मी, समाजसेवी तथा व्यापारीमा सुरक्षा चिन्ता बढेको छ। रायको हत्या भएसँगै सदरमुकाम मलंगवाका साथै सर्लाही जिल्लाभरी नै खल्बली मच्चिएको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु । निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस्।’

मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनको एक श्रीमती, २ छोरा र ५ छोरी छन् । मृतक रायका सहोदर भाइ अहिले मलंगवा नगरपालिकाका प्रमुख छन्।  

पुर्वमन्त्रीको हत्याको आशंकाामा निजकै घरमा काम गर्ने सर्लाहीकै कविलासी गाउँपालिका ३ मदनपुरका २१ वर्षिय राम उदय यादवलाइ सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे सूक्ष्म तरिकाले गहन अनुसन्धानका लागि मधेस प्रदेशको प्रहरी कार्यालय जनकपुरबाट डिएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली खटाएको छ । प्रहरीले घटनाको विभिन्न तरिकाले अनुसन्धान थालेको बताएको छ ।

घरमा रहेका आफन्त समेत रहेका एक कामदारले राति १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहका अनुसार कुराकानी गर्न भन्दै राति ९ बजेतिर नचिनेका ३ जना आएपछि रायले आफूलाई माथि गएर सुत्न भनेको र राति १ बजेतिर उठेर हेर्दा राय मृत देखेको बताएका छन्।

प्रहरीले पाहुनाका रुपमा राति घरमा आएका व्यक्ति सम्बन्धमा समेत अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ७ श्रावण २०८१ १७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App