२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

विकासका नाममा हिंसाको जोखिम!

दुई दिनअघि शुक्रबार न्युरोडमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पुतला जलाइयो । त्यही सडकमा आइतबार बालेन साहको तस्बिरसहित ‘ग्रेटर नेपाल’ लेखिएको ट्याक्सी गुडिरहेको थियो । वडा नम्बर २२ स्थित न्युरोड क्षेत्रमा सडकपेटी बढाउने काम सुरु भएपछि विरोधमा स्थानीयले मेयर साहको पुतला जलाएका थिए।

यो ‘सांकेतिक’ कुरा हो। तर केही दिनयता नयाँ सडक क्षेत्रमा पेटी विस्तारलाई लिएर भएको विवादले सर्वसाधरण मर्कामा परेका छन्। कतिपयले यो विवादलाई ‘पुरानै प्रवृत्ति’को संज्ञा दिएका छन्। एकातिर मेयर साहमाथि वडालाई विभाजित गरेर राजनीति गर्न थालेको आरोप लागेको छ भने अर्कोतिर उनलाई ‘एकताको प्रतीक’ मान्ने पनि कम छैनन्। झट्ट हेर्दा सडक र पेटी कुन फराकिलो बनाउने भन्ने विवाद देखिन्छ। तर यसमा कसको राजनीति फराकिलो बनाउने भन्ने चाल लुकेको छ। कसैले यसलाई सडकको समस्या त कसलै मेयर साहको ‘सनक’ भनेका छन्।

‘ती परका विकास विरोधी हुन,’ आइतबार भूगोलपार्क नजिक जम्मा भएको भिडतिर देखाउँदै वडा नम्बर २४ का बासिन्दा प्रभात शाक्यले भने, ‘साँघुरो पेटीलाई फराकिलो बनाएर सर्वसाधारणलाई राहत दिन थालिएको कामको किन विरोध हुन्छ ?’ साँघुरो सडक पेटी सर्वसाधारणका लागि जोखिम बन्दै गएका बेला मेयर साहले विस्तारको काम अघि बढाएर राम्रो गरेको उनको बुझाइ रहेछ।

तर भूगोलपार्कमा धर्नामा बसेका विकास डंगोल भने शाक्यको भनाइप्रति सहमत छैनन्। सरोकारवाला क्षेत्रका वडा अध्यक्षसँग सरसल्लाह नगरी मेयर साहले एकलौटी काम गर्दा समस्या आएको उनी बताउँछन्। ‘सडकपेटी र सडकको मात्र कुरा हैन,’ उनले भने, ‘सरोकारवालासँग समन्वय नगर्नु समस्या हो।’ बालेन सिंगो महानगरको मेयर भए पनि आ–आफ्नो वडाका लागि त अध्यक्ष नै मेयरसरह हुने उनको तर्क छ। उनका अनुसार वडाका समस्याप्रति वडाध्यक्ष बढी जानकार हुन्छन्।

कतिपय पेटी विस्तार गर्दा न्युरोड क्षेत्रको व्यापार प्रभावित हुने भएकाले यो जायज नभएको बताउँछन्। ‘अहिले मेयर बालेन साहले सडक साँघुरो बनाएर पेटी बढाउन थालेका छन्,’ स्थानीय नरेन्द्र महर्जनले भने, ‘भोलि नो भेइकल जोन भन्दै सवारी चलाउन रोक लगाउन सक्छन्।’ अधिक स्थानीय यसकारण पनि विरोधमा उत्रिएको उनको बुझाइ छ।  केही स्थानीयले आइतबार प्रेस विज्ञप्ति जारी गरी सडक पेटी विस्तारलाई मात्रै महत्त्व दिँदा सडकको वर्तमान स्वरूपमा परिवर्तन आउने र त्यसले सन्तुलन बिग्रिने बताएका छन्।

‘न्युरोड अत्यन्त धेरै जनघनत्व भएको क्षेत्रको एक मात्र ठुलो दुईतर्फी गाडी गुडाउन र मानिस हिँड्न मिल्ने सडक हो’, विज्ञप्तिमा लेखिएको छ, ‘बटुवा र गाडी दुवैको चाप अत्यन्त धेरै भएकाले पेटीलाई मात्र थप महत्त्व  दिएर वर्तमान स्वरूपलाई परिवर्तन गर्नेबित्तिकै हालको सन्तुलन खलबलिन पुग्छ। यसले यहाँका जनताको जीवनचर्यामा ठुलो नकारात्मक असर पर्न जानेछ।’

मेयर साहको कामको पक्ष र विपक्षमा विवाद बढ्दै गर्दा केही देनिदेखि न्युरोड क्षेत्र तनावग्रस्तसमेत छ। सडक साँघुरो बनाएर पेटी विस्तार गर्न खोज्ने महानगरको काम र त्यसलाई रोक्न खोज्ने स्थानीयको प्रतिकारले यो क्षेत्र तनावग्रस्त बनेको हो।खासमा यो क्षेत्रमा तनाव महिना दिनअघि नै सुरु भएको थियो। मेयरले सडक विभागको अगाडि फोहोर थुपारेपछि विवाद उत्कर्षमा पुगेको थियो।

त्यसपछि महानगरले सडकपेटी बढाउने योजना थाल्दा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको सडक विभाग बीचमा आएको थियो। विभागले महानगरले थालेको काम सडक कानुनविपरीत भन्दै खनेको सडक कालोपत्रे गरिदिएको थियो। केही समय थामिएको विवादको यो आँधी एक साताअगाडिबाट फेरि चल्न सुरु गरेको हो। 

काठमाडौं महानगरपालिकाले न्युरोाडलगायत क्षेत्रमा गर्न थालेको सडकपेटी विस्तारमा संघीय सरकारले हस्तक्षेप गर्न नपाउने आदेश उच्च अदालत पाटनले दिएको छ। यही आदेशपछि केही समय रोकिएको महानगरले आफ्नो कामलाई अगाडि बढाएको हो। उसले डोजर लगाएर सडकपेटी विस्तार गर्न थालेपछि सर्वसाधारणले अवरोध गरेका हुन्।

सडक विवादको सामाजिक सञ्जालमा पनि खुबै चर्चा छ। कसैले मेयर साहले मनपरी गरेको भन्दै आलोचना गरेका छन्। कसैले उनको काममा राजनीतिक हस्तक्षेप भएको टिप्पणी गरेका छन्। ‘बालेन सधैं किन विवादमा आउँछन्, विवाद नगरी काम गर्न मिल्दैन,’ सामाजिक सञ्जालमा रत्न चित्रकार लेख्छन्, ‘ऊ मेयर हो राजा हैन।’ संघीयता प्रतिस्पर्धी होइन, जुध्ने कुस्ती खेल्ने पनि होइन, समन्वय र सहकार्यमा आधारित व्यवस्था भएको भन्दै उनले कसैले यो मेराे यो तेरो भन्न नहुने लेखेका छन्।

त्यस्तै केहीले स्वतन्त्र मेयरले गरेका राम्रा कामलाई दलहरूका प्रतिनिधिले मिलेर अवरोध गर्न खोजेको टिप्पणी गरेका छन्। ‘यो विकासमा भएको राजनीति हो,’ नरेन्द्र दाहाल लेख्छन्, ‘यस्तो कार्यले कसैको पनि भलो गर्दैन।’ विकास निर्माणमा एकले अर्कोसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनी सुझाउँछन्। स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको धर्नामा एमाले केन्द्रीयस्तरमा नेतासमेतले सहभागिता जनाउन थालेपछि कतिपयले सडकमा पनि राजनीति हुन थालेको टिप्पणी गरेका छन्।

केहीले भने यसलाई ‘इगो’ का रूपमा बुझेका रहेछन्। मेयर साह र २२ नम्बर वडाका अध्यक्ष चीनकाजी महर्जनबीचको टकराबले विवाद निम्ताएको कतिपयको टिप्पणी छ। वडाध्यक्ष महर्जनले आफू विकास विरोधी नभएको तर जनताको भावनाअनुसार काम गरेको बताउँछन्। ‘जनप्रतिनिधिले जबरजस्ती हैन जनताको मन जितेर अगाडि बढ्ने हो,’ उनले भने, ‘एकलौटी ढंगबाट अगाडि बढ्दा निम्तिएको समस्या हो यो।’ न्युरोडमा के गर्दा राम्रो हुन्छ भन्ने कुरा स्थानीयले बुझ्नुपर्ने उनले बताए।

सडकपेटी विस्तारको विरोधमा काठमाडौं महानगरपालिका २२ नम्बर वडा कार्यालयले सडकबाटै सेवा दिन थालेको छ। महानगरपालिकाले पेटी विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिले सडकमै पाल टाँगेर काम गर्न थालेका हुन्।

केही सर्वसाधारण भने एकले अर्कोलाई दोष दिनेभन्दा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँछन्। ‘के सही, के गलतभन्दा पनि यो दुई पक्षबीचको इगोको समस्या हो,’ विनीत रायमाझीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडक विभागले केही गर्न लागे स्थानीय तहले रोक्नु भएन, स्थानीय तहले केही गर्न चाहे सडक विभागले रोक्नु भएन। त्यस्तै अन्य कुरामा पनि एकले अर्कोलाई स्वीकार गर्नुपर्छ।’

प्रकाशित: ७ श्रावण २०८१ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App