२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्का घटनाबाट नौ जनाको मृत्यु, तीनजना घाइते

ताप्लेजुङमा आर्थिक बर्ष २०८०/८१ को एकबर्षे अवधिमा ६४ वटा विपद्का घटनाबाट ९ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आर्थिक बर्ष २०७९/८० बाट चट्याङ र बाढी तथा पहिरोबाट ३–३ गरी ६ जनाको मृत्यु भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा विपद्का घटनाबाट ६४ निजी घर पूर्ण रुपमा क्षति भएको छ। आर्थिक वर्ष २०७९/८० मा ५८ निजी घर पूर्ण तथा २ घर आशिंक रूपमा क्षति भएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिले आर्थिक बर्ष २०८०/८१ मा २४ लाख ८ हजार रुपैयाँ राहत रकम बितरण गरेको छ। आर्थिक बर्ष २०७९/८० मा विपद् प्रभावितलाई १५ लाख १८ हजार रुपैयाँ राहत रकम बितरण गरिएको थियो। प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान छ।

अख्तियार दुरुपयोगका उजुरी बढे,अभद्र व्यवहारका घटे  

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक बर्ष २०८०/८१ मा अख्तियार दुरुपयोग सम्वन्धी उजुरी बढेका छन्। प्रशासन कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार आर्थिक बर्ष २०८०/८१ मा अख्तियार दुरुपयोग सम्वन्धी १० वटा उजुरी दर्ता भए। आर्थिक बर्ष २०७९/८० मा यस प्रकृतिका ६ वटा उजुरी दर्ता भएका थिए।

यस्तै,अभद्र व्यवहार सम्वन्धी मुद्दा भने एक आर्थिक बर्षमा झिनो संख्याले घटेका छन्। भट्टराईका अनुसार आर्थिक बर्ष २०८०/८१ मा अभद्र व्यवहारका २३ थान मुद्दा दर्ता भएका थिए। आर्थिक बर्ष २०७९/८० मा यो प्रकृतिका २५ थान मुद्दा थिए। प्रशासन कार्यालयले कार्यालयमा कुनैपनि मुद्दा फस्र्योट गर्न बाँकी नरहेको जनाएको छ।  

संस्था दर्ता गर्ने बढे,नविकरण गर्ने घटे 

ताप्लेजुङमा सस्था दर्ता गर्ने बढ्दा नविकरण गर्ने भने घटेका छन्। प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार आर्थिक बर्ष २०८०/८१ मा १५ वटा संस्था दर्ता भएका छन्।

आर्थिक वर्ष २०७९/८० मा ९ वटा मात्र दर्ता भएका थिए। आर्थिक बर्ष २०८०/८१ मा ६२ वटा संस्थाको नविकरण भएको छ। आर्थिक बर्ष २०७९/८० मा भने ७५ वटा संस्था नविकरण भएका थिए। हातहतियार नविकरण तथा नामसारी गर्ने भने बढेका छन्।

आर्थिक बर्ष २०८०/८१ मा ४८ वटा हातहतियार नविकरण हुँदा ६ वटाको नामसारी भएको छ। आर्थिक बर्ष २०७९/८० मा ४४ वटा हातहतियारको नविकरण हुँदा १ वटाको नामसारी भएको थियो। नावालक परिचय–पत्र बितरणको संख्या पनि एक आर्थिक बर्षमा बढेको देखिएको छ।

आर्थिक बर्ष २०८०/८१ मा ८४ वटा नावालक परिचय–पत्र जारी भएका छन्। आर्थिक बर्ष २०७९/८० मा ७९ वटा नावालक परिचय–पत्र जारी भएका थिए। 

प्रकाशित: ४ श्रावण २०८१ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App