२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ह्युम पाइपले जोड्यो बाह्रविसे–तातोपानी खण्ड

मोटरेवल पुल बगाएपछि सडक सम्पर्क टुटेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्डलाई बिहीबार अस्थायी सडकले जोडेको छ। योसँगै चार दिनपछि सवारी साधनसमेत चल्न थालेका छन्।

पुल बगाएकै ठाउँमा ह्युम पाइप बिछ्याएर अस्थायी सडक संरचनामार्फत सीमा नाका तातोपानी–बाह्रविसे जोडिएका हुन्। बाह्रविसे नगरपालिका–३ स्थित खागदल खोलामा रहेको मोटरेवल पुल (बेलिब्रिज) भारी वर्षापछिको बाढीले सोमबार बगाएको थियो।

बाह्रविसे नगरपालिकाको अगुवाईमा टुटेको सडक सम्पर्क जोडिएको हो। नदीमा तीनवटा ह्युम पाइप बिछ्याएर त्यसमाथि रोडा, बालुवा भरेर अस्थायी सडक संरचना बनाएको नगर प्रमुख बालकृष्ण बस्नेतले जनाए।

‘नगरको स्रोत, साधन र आर्थिक व्यवस्थापनमा अस्थायी रुपमा सडक जोड्न सफल भएका छौँ,’ उनले नागरिकसँग भने।

सडक सम्पर्क जोड्न डिभिजन सडक कार्यालय र सुरक्षाकर्मीले सघाएका थिए। बगेको बेलिब्रिज सुरक्षित गर्न नेपाली सेनाले सघाएको थियो। पछि काम लाग्न सक्ने देखेर पुलका पाटपूर्जा फुकालेर सुरक्षित गरिएको प्रमुख बस्नेतले बताए।

अस्थायी संरचनाले सडक जोडिएसँगै चिनियाँ सामाग्रीले भरिएका मालवाहक कन्टेनर पार भएका छन्। पुल बगाउँदा तातोपानी भन्सार यार्ड र सडकको विभिन्न स्थानमा दर्जनौँ कन्टेनर रोकिएका थिए। यसबाट तातोपानी नाकाबाट हुने नेपाल–चीन आर्थिक कारोबार नै प्रभावित हुन पुगेको थियो।

तत्काल बेलिब्रिज राख्न पहल भइरहेको पनि नगरप्रमुख बस्नेतले बताए। यस क्षेत्रबाट निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोधले बेलिब्रिजका लागि केन्द्रीय सरकारसँग दबाब बढाएका छन्। उनीसहितको प्रतिनिधि मण्डलले मंगलबार भौतिक योजना पूर्वाधार योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेट गरेको थियो।

उक्त भेटमा तत्काल खागदलमा बेलिब्रिज राख्ने सहमति जुटेको सांसद सापकोटाले जानकारी दिए। ‘स्थानीयको आवागमनका साथै अन्तर्राष्ट्रिय व्यापार नै प्रभावित हुने भएकाले बेलिब्रिज राख्न विलम्ब गर्नु हुँदैन। यस विषयमा मन्त्री सकारात्मक हुनुहुन्छ,’ सापकोटाले भने।

प्रकाशित: ३ श्रावण २०८१ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App